पोखरा, माघ ।
नेपाली कम्युनिष्ट पार्टीबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ ‘करण’ रुपा गाउँपालिकाका मतदाताको घरदैलोमा पुगेका छन् । सोमबार उनले रुपा ७ हंशपुरका स्थानीयसंग उनले भेटघाट गरेका हुन् । भेटघाटका क्रममा स्थानीयले राष्ट्रिय राजनीति र स्थानीय स्तरमा हुन नसकेको विकास निर्माणको बारे खुलेर बोलेका छन् । स्थानीय ७० वर्षीय बलराम सुवेदीले जेनजी आन्दोलन पछि दुई पूर्वप्रधानमन्त्री प्रचण्ड र माधव नेपालले राम्रो भूमिका खेल्दा लोकतन्त्र जोगिएको बताए । उनले तत्कालिन सत्तामा रहेका एमाले र कांग्रेसको भूमिकाका कारण देशमा समस्या आएको बताउँदै उनले अबको निकास नेकपाले मात्रै दिन सक्ने निश्कर्ष सुनाए । ‘नयाँहरुले अहिलेको पस्थिति पार लगाउन सक्दैनन् । कांग्रेस एमालेले देशलाई यो अवस्थामा ल्याए । अब यहाँहरु (नेपाली कम्युनिष्ट पार्टी) को विकल्प देखिएन । भोट यहाँहरुलाई नै दिने हो’ उनले भने ।
अर्का ७० वर्षीय कृष्णप्रसाद सुवेदीले आफ्नो गाउँ विकास निर्माणमा पछि परेको भन्दै दोवानखोला पुल बने र काउरे–धारापानी बाटो निर्माण भए स्थानीयले धेरै सुविधा पाउने बताए । नेकपा उम्मेदवार राजकाजी गुरुङ अनुभवी र जनतासंग भिजेको नेता भएकाले आफूहरुका अपेक्षा पूरा हुने आशा र भरोसा रहेको उनको भनाई थियो । स्थानीयका गुनासा टिप्दै उमेदवार राजकाजी गुरुङले आफू यस अगाडि कास्की १ को जनप्रतिनिधि नभएपनि विकास र योजनामा साथमै रहेको बताए । उनले प्रचण्ड नेतृत्वको सरकारमा वर्षमान पुन अर्थभन्त्री भएका बेला उनको सल्लाहकार भएरै काम गरेको र कास्की १ मा विभिन्न योजना ल्याएको स्मरण गराए । आफू जस्तोसुकै परिस्थितिमा पनि जनताको साथमा रहने बाचा गरेका उनले आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा खेलेको भूमिका र आफूलाई हेरेर तारा चिन्हमा मतदान गर्न उनले आग्रह गरे ।
उम्मेदवार गुरुङ सोमबार रुपा गाउँपालिका स्थित वडा नम्बर ७ र वडा नम्बर १ का विभिन्न स्थानमा नेकपाका नेता गण्डकी इञ्चार्ज श्रीनाथ बराल, समानुपातिक उम्मेदवार सोमती गुरुङ, दिलकुमारी पन्तलगायतका नेता तथा कार्यकर्ताको साथमा घरदैलामा पुगेका छन् ।










