माघ , पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १०, रामबजारमा अवस्थित कालिका माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजित वृहत रक्तदान कार्यक्रममा १०४ युनिट रगत संकलन भएको छ। “तपाईंको एक थोपा रगत कसैको सम्पूर्ण जीवन बन्न सक्छ” भन्ने मूल नाराका साथ रगतको अभावका कारण बिरामीहरूले भोग्नुपरेको समस्यालाई न्यूनीकरण गर्दै जीवन रक्षामा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीपकबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ फिजिसियन डा. शरद चन्द्र बराल प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। कार्यक्रम उद्घाटन प्रमुख अतिथि डा. बरालले विद्यालय व्यवस्थापन समिति अध्यक्ष थापालाई ब्लड ब्याग हस्तान्तरण गरी गर्नुभएको थियो। उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि डा. बरालले रक्तदानजस्तो मानवीय र जीवनदायी कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्नुभयो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक श्रीराम आचार्यले सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यालयले हरेक वर्ष यस्ता रचनात्मक तथा मानवीय कार्यहरू सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने बताउनुभयो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, वडा नं १० का जनप्रतिनिधि, प्रादेशिक रक्त सञ्चार सेवा पोखरा तथा नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका प्रतिनिधि, भू. पू. विद्यार्थी, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रम प्रादेशिक रक्त सञ्चार सेवा पोखरा र नेपाल रेडक्रस सोसाईटी कास्कीको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो। विद्यालयका शिक्षक अमृत ढकालको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक ज्ञानबहादुर थापाले गर्नु भएको थियो।













