पोखरा, २२ माघ ।
प्रतिनिधि सभा निर्वाचनको मिति एक महिना बाँकी रहँदा कास्कीमा चुनावी सरगर्मी बढेको छ । चुनाव लक्षित ठूला पार्टीका उम्मेदवार घरदैलो र सम्पर्क कार्यालय स्थापना गर्न व्यस्त देखिन्छन् । यसै सिलसिलामा नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं २ का चुनाव प्रचारप्रसार कार्यालय खोल्ने क्रम तीव्र बनेको छ । कास्की निर्वाचन क्षेत्र नं २ अन्तरगत आज (बिहीबार) पोखरा–९ नयाँबजारमा नेपाली काँग्रेस कास्कीको चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय स्थापना गरिएको छ । उक्त सम्पर्क कार्यालयको आज नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र नेपाली काँग्रेसका तर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधवप्रसाद बास्तोला (मधु) ले सयुक्त रुपमा उद्घाटन गरेका हुन् । कास्की निर्वाचन क्षेत्र नं २ अन्तरगत नेपाली काँग्रेसले यस अघि वडा नं ८, वडा नं ४ र वडा नं २१ मा सम्पर्क कार्यालय स्थापना गरिसकेको छ । सम्पर्क कार्यालयको उद्घाटन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपाली काँग्रेस देशकै अभिभावक पार्टी भएकाले देश भित्रका हरेक समस्यालाई मर्यादित रुपमा समाधान गर्ने बताए ।
सभापति शर्माले काँग्रेस कमजोर हुँदा देश कमजोर हुने भएकाले काँग्रेसलाई बलियो बनाउने दायित्व सबै नेपालीको भएको बताउँदै प्रजातन्त्रमा विश्वास राख्ने पार्टी नेपाली काँग्रेसमा लागेर देशको सेवा गर्न सबै नेपालीलाई आग्रह गरे । नोपली काँग्रेसले युवालाई अगाडि सार्ने नीति अनुसार पार्टी सभापति युवा नेता गगन थापालाइ बनायौ, भावि प्रधानमन्त्री पनि उहाँलाई नै बनाउने योजनाकासाथ नेपाली काँग्रेस अगाडि वढेको भनाइ उनको थियो । नेपाली काँग्रेस अब सुधारिएको छ, पार्टीको नेतृत्व पनि युवाको काँधमा गएकाले युवा मतदाताले पनि एक पटक काँग्रेसलाई विश्वास गर्न आवश्यक छ उनले भने । नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं २ का तर्फबाट उम्मेदवार माधवप्रसाद बाँस्तोलाले नेपाली काँग्रेसले देशलाई कमजोर हुनबाट बचाउने भएकै कारण काँग्रेसलाई विश्वास गर्न आम मतदातासँग आग्रह गरे । युवालाई स्वदेशमा नै अवसरहरु सृजनागरी विदेशमा दिने सुविधा यही दिन सकिने भनाइ उनको छ ।
प्राकृतिक सम्पदाले भरिपूर्ण देश नेपालमा पर्यटन, कृषि तथा जलविद्युतको क्षेत्रमा छिट्टै फड्को मार्न सकिने भनाइ उनको छ । नेपालमा शिक्षा, स्वास्थ्य, उद्यमशीलता, पर्यटन, ऊर्जा, कृषि पूर्वाधारहरुलाई विकास गर्न जरुरी रहेको भनाइ उनको थियो । उउक्त कार्यक्रमको अध्यक्षता नेपाली काँग्रेस पोखरा महानगर वडा नं ९ का सभापति शिवराज बाँस्तोलाले गरेका थिए । सो अवसरमा काँग्रेस नेता मुना बास्तोला, सूर्यभक्त सिग्देल, महेश सिग्देल लगायतले आफ्नो भनाइ राखेका थिए । त्यसैगरी उम्मेदवार वास्तोलाले आजै पोखरा–९ को नयाँबजार, शान्तिवन र पोखरा–३३ को भरतपोखरीमा मतदातासँग सुझाव संकलन गर्दै मत माग्नुभएको थियो ।













