पोखरा, माघ ।
पोखरा–२७, तालचोकस्थित डायमण्ड सेकेन्डरी स्कूलमा “Read Today, Lead Tomorrow” भन्ने मूल नारासहित पठन महोत्सव २०८२ बाट सुरु हुने तीन दिने शैक्षिक, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम विहीबारदेखि सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा पठन महोत्सव, डायमण्ड मेला (Food, Education & Fun) तथा ३८औँ वार्षिक उत्सव समेटिएको छ। विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमता उजागर गर्ने उद्देश्यले विद्यालयले कार्यक्रम आयोजना गरेको हो। पहिलो दिन पठन महोत्सव २०८२ औपचारिक उद्घाटन समारोहसहित सुरु गरिएको थियो, जहाँ राष्ट्रगान, विद्यालय प्रार्थना, ध्यान, १० मिनेटको सामूहिक “Read Aloud Session” आयोजना गरिएको थियो।

पहिलो दिनको प्रमुख आकर्षणका रूपमा प्रख्यात साहित्यकार डा. नवराज लम्सालको Book Talk Show तथा Panel Discussion सम्पन्न भयो भने शिव त्रिपाठीद्वारा कविता वाचन कार्यक्रमको विशेष आकर्षण बनेको थियो। यसै दिन कक्षा स्तरअनुसार पुस्तक समीक्षा, कविता वाचन, परियोजना प्रस्तुति, समाचार वाचन, भाषा खेल, समूह वाचन तथा अभिभावक अनुभव आदान–प्रदान जस्ता गतिविधिहरू विद्यालयका विभिन्न स्थानहरूमा Parallel Session मार्फत सञ्चालन गरिएका थिए। विद्यालयका प्राचार्य यमबहादुर रोक्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुप्रसिद्ध आख्यानकार कपिलदेव लामिछाने, समालोचक तथा साहित्यिक स्रष्टा कृष्णशरण उपाध्याय, समकालीन छन्द कवि शिव त्रिपाठीलगायत वक्ताहरूले सिकाइको कुनै सीमा नहुने बताउँदै विद्यार्थीहरूका लागि वैज्ञानिक कार्यप्रणाली र बालमैत्री वातावरणमा ध्यान दिनुपर्ने सुझाव व्यक्त गरेका थिए ।

नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूका लागि छुट्टै कार्यक्रम र कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूका लागि अर्को कार्यक्रम सञ्चालन गरिएको थियो । विशेष गरी विद्यार्थीहरूमा पढाइप्रति सकारात्मक वातावरण सृजना गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयका निर्देशक माधवशरण उपाध्यायले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन शिक्षक प्रदीप पोखरेल, कविता गुरुङ र हरियामा गुरुङले गरेका थिए । कार्यक्रम संयोजक अनुराधा शर्माले पढाइ महोत्सवका बारेमा जानकारी गराएको उक्त कार्यक्रममा व्यवस्थापक हरिप्रसाद लामिछाने र शैक्षिक प्रमुख इञ्जिनियर सञ्जीव थापा लगायत वक्ताहरूले डायमण्डले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रमको दोस्रो दिन Food, Education & Fun लाई एकै ठाउँमा समेटिएको डायमण्ड मेला २०८२ आयोजना गरिनेछ, जसमा ब्यान्ड प्रस्तुति, शैक्षिक स्टल, विद्यार्थीहरूको सिर्जनात्मक सामग्री र ठूलो मेला मुख्य आकर्षण रहनेछन्। त्यस्तै तेस्रो दिन ३८औँ वार्षिक उत्सव अन्तर्गत विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम, नाटक, नृत्य, गायन तथा विशेष प्रस्तुति आयोजना गरिनेछ। विद्यालय प्रशासनका अनुसार विद्यार्थीलाई कक्षाकोठामा मात्र सीमित नराखी उनीहरूमा रहेको आत्मविश्वास, सिर्जनशीलता र नेतृत्व क्षमता विकास गर्न यस्ता कार्यक्रम आवश्यक छन्।













