पोखरा २८, माघ ।
नेपाल–भारत मैत्री संघ कास्कीको आयोजनामा पोखरामा एक विशेष विदाइ तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संघका पदाधिकारी, सदस्यहरू, नेपाल एस.बी.आई बैंकका कर्मचारी तथा पोखरा पीपीओका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य संघका पूर्व अध्यक्ष श्री गोपाल धोजूले व्यक्त गर्नुभएको थियो। उहाँले संघले विगतदेखि गर्दै आएका गतिविधिहरूको स्मरण गर्दै नेपाल र भारतबीचको मैत्री सम्बन्ध सुदृढ बनाउन यस्ता कार्यक्रमको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो।

कार्यक्रममा विदाइ हुनुभएका लेफ्टिनेन्ट कर्नल प्रशान्त सिंह बघेलले आफू पोखरामा रहँदा सकेसम्म सहयोग गर्ने प्रयास गरेको र आगामी दिनमा भारतको जुनसुकै स्थानमा रहे पनि नेपालको हितका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पोखरामा बिताएका समय र यहाँका मानिसहरू सँगको सम्बन्ध सदैव स्मरणीय रहने धारणा राख्नुभयो। त्यसैगरी नवआगन्तुक लेफ्टिनेन्ट कर्नल चितरञ्जन साहूले आफू यो स्थानका लागि नयाँ भए पनि पोखरामा रहँदा नेपाल–भारत मैत्री संघसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो। उहाँले दुवै देशबीचको आपसी समझदारी र सहकार्यलाई थप मजबुत बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउनुभयो।

कार्यक्रमका अध्यक्ष श्री किरणलाल श्रेष्ठले संघको आगामी योजनाबारे जानकारी गराउँदै अब छिट्टै नेपाल–भारत मैत्री संघको भवन तथा लाइब्रेरी व्यवस्थापन निर्माणका लागि स्रोत–साधन जुटाउने क्रम जारी रहेको बताउनुभयो। उहाँले यस कार्यका लागि केही रकम संकलन भइसकेको र थप सहयोग जुटाउने प्रयास भइरहेको जानकारी दिनुभयो। साथै संघलाई संस्थागत रूपमा अझ सशक्त बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको अध्यक्षता श्री किरणलाल श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन संस्थाकी सचिव मिनु श्रेष्ठ कुँवरले गर्नुभएको थियो। कार्यक्रममा नेपाल एस.बी.आई बैंकका कर्मचारीहरू, नेपाल–भारत मैत्री संघका सदस्यहरू तथा पोखरा पीपीओका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। नेपाल–भारत मैत्री संघ कास्कीले दुई देशबीचको सांस्कृतिक, सामाजिक तथा मैत्रीपूर्ण सम्बन्ध अभिवृद्धि गर्न निरन्तर महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।













