पोखरा, चैत्र ।
“हाम्रो प्रतिबद्धता स् विचार, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रता” मूल मन्त्रसहित २०६७ सालमा स्थापित नेपाली लेखक सङ्घ कास्कीको साधारणसभा तथा छैटौँ अधिवेशन २०८२ चैत २१ गते पोखरामा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि तथा सङ्घका सल्लाहकार प्रा. डा. लक्ष्मीशरण अधिकारीले लेखक सङ्घ लोकतन्त्रवादी लेखक साहित्यकारहरूको साझा थलो भएको उल्लेख गर्नुभयो । उहाँले देशको कठिन परिस्थितिमा लेखक साहित्यकारहरूको सिर्जनाले विशेष महत्त्व राख्ने र संस्थाको समग्र विकासमा योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो ।
छैटौँ अधिवेशनबाट साहित्यकार तथा रेडियोकर्मी कमल पौडेल ‘अथक’को नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा चन्द्रावती वाग्ले, सचिवमा रोशन तिमिल्सिना, सहसचिवमा वसन्त चालिसे र कोषाध्यक्षमा गायत्री पराजुली चयन हुनुभएको छ । सदस्यमा भेषराज पौडेल निर्वाचित भएको जानकारी सङ्घका सल्लाहकार एवम् निर्वाचन अधिकृत लक्ष्मण थापाले दिनुभयो । समितिका बाँकी सदस्य तथा सल्लाहकारहरू आगामी कार्यसमिति बैठकबाट चयन गरिने नवनिर्वाचित अध्यक्ष कमल पौडेल ‘अथक’ले जानकारी दिनुभयो । सङ्घका अध्यक्ष रिता अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय उपाध्यक्ष इश्वरमणि अधिकारी, प्रदेश अध्यक्ष दीपक समीप, उपाध्यक्ष कमल पौडेल ‘अथक’ र सचिव सञ्जय न्यौपाने ‘प्राञ्जल’ले शुभकामना मन्तव्य राख्नुभएको थियो ।













