पोखरा, १४ — यस क्षेत्रको उत्कृष्ट सामुदायिक शैक्षिक संस्था QAA प्राप्त कालिका बहुमुखी क्याम्पस र प्रतिष्ठित व्यावसायिक समूह के.सी. ग्रुपबीच क्याम्पसबाट अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई रोजगारी प्रदान गर्ने साथै अध्ययनरत विद्यार्थीहरुलाई इन्टर्नशिपको व्यवस्था मिलाउने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ । क्याम्पसको सभाहलमा आयोजित समारोहका बीच उक्त समझदारीपत्रमा क्याम्पसका प्रमुख प्रा. बिरन्जी गौतम तथा के.सी. ग्रुपका कार्यकारी निर्देशक सफल व्यवसायी सामाजिक व्यक्तित्व श्री किरण के.सी.ले संयुक्त रूपमा हस्ताक्षर गरे । कार्यक्रम के.सी. ग्रुपका कार्यकारी निर्देशक श्री किरण के.सी.को प्रमुख आतिथ्य तथा सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वु, संचालक समितिका सदस्यहरु प्राध्यापक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रम औचित्य माथि प्रकाश पादै क्याम्पस प्रमुख प्रा. गौतमले क्याम्पसको ऐतिहासिक पृष्ठभूमि, विकासक्रम तथा हालसम्म हासिल गरिएका महत्वपूर्ण उपलब्धिहरूको विस्तृत समीक्षा प्रस्तुत गर्नुभयो । उहाँले विश्वस्तरमा परिचित एक प्रतिष्ठित व्यावसायिक समूहसँग सहकार्य स्थापना हुनु क्याम्पसका लागि गौरवको विषय भएको उल्लेख गर्दै विगतदेखि नै के.सी. ग्रुपले क्याम्पसको भौतिक तथा शैक्षिक विकासमा निरन्तर सहयोग पुर्याकउँदै आएकोमा आभार व्यक्त गर्नुभयो । के. सी. परिवारद्धारा स्थापित सुर्य–प्रेम ट्रस्टबाट क्याम्पस परिसरभित्र करिब ३ करोड २८ लाख भन्दा बढी लगानीमा किर्ति भवन निर्माण गरेको जानकारी दिंदै यस सहकार्यले शैक्षिक र व्यावसायिक क्षेत्रबीच सुदृढ सम्बन्ध स्थापित गर्दै विद्यार्थीहरूलाई व्यवहारिक तथा सीपमूलक शिक्षातर्फ उन्मुख गराउने अपेक्षा गर्नुभयो ।
उहाँका अनुसार, यस समझदारीपत्रले क्याम्पस र विद्यार्थीहरूको लागि नयाँ अवसरहरूको ढोका खोल्नेछ, जसले शैक्षिक गुणस्तर अभिवृद्धि, व्यावसायिक सीप विकास तथा अनुसन्धान प्रवद्र्धनमा टेवा पुर्याजउनेछ । साथै, क्याम्पसले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्ता सहकार्यलाई अझ सुदृढ बनाइने बताउनुभयो । कालिका बहुमुखी क्याम्पस २०४८ सालमा स्थानीय समाजसेवी, शिक्षाप्रेमी तथा बुद्धिजीवीहरूको सक्रिय पहलमा स्थापना भएको एक गैरनाफामूलक सामुदायिक शैक्षिक संस्था होे । स्थापना कालमा करिब ८ जना संरक्षक, १८ जना सिनेटर, ६ जना शिक्षक, सीमित स्रोत–साधनका बीच करिब ८९ जना विद्यार्थीबाट शैक्षिक यात्रा सुरु भएको थियो । प्रारम्भिक चरणमा थोरै शिक्षक तथा कर्मचारीको सीमित जनशक्तिबाट सञ्चालन गरिएको क्याम्पसले समयसँगै उल्लेखनीय प्रगति हासिल गर्दै आज देशकै अग्रणी शैक्षिक संस्थामध्ये एकको रूपमा स्थापित भइसकेको छ । जसको प्रमुख उद्देश्य गुणस्तरीय शिक्षा प्रदान गर्दै सक्षम मानव स्रोत उत्पादन गर्नु रहेको छ ।

शैक्षिक पहुँच विस्तारका लागि क्याम्पसले कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ भने अनुसन्धान प्रवद्र्धनका लागि अनुसन्धान विभागमार्फत लघु अनुसन्धानमा रु. २५ हजार तथा फ्याकल्टी अनुसन्धानमा रु. ५० हजारसम्म अनुदान उपलब्ध गराउँदै आएको छ । साथै, शिक्षकहरूको पेशागत तथा उच्च शिक्षा अभिवृद्धिमा समेत उल्लेखनीय लगानी गर्दै आएको क्याम्पसले विभिन्न अनुसन्धानमूलक जर्नल तथा पुस्तकहरू प्रकाशन गर्दै आएको छ । क्याम्पसमा हाल २१ हजारभन्दा बढी पुस्तकसहितको आधुनिक पुस्तकालय तथा ई–लाइब्रेरी सुविधा उपलब्ध रहेको छ । यसबाहेक, विभिन्न नन–क्रेडिट कोर्सअन्तर्गत उद्यमशीलता तालिम, मन्टेश्वरी तालिम, शिक्षण लाइसेन्स तथा शिक्षक सेवा आयोगका तयारी कक्षा, अनुसन्धान लेखन कार्यशाला तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मेलनहरू आयोजना गर्दै आएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ं के.सी. समूहका कार्यकारी निर्देशक श्री किरण के.सी.ले नेपालको निजी क्षेत्रको विकास, उद्यमशीलताको विस्तार तथा सीपमूलक शिक्षाको अपरिहार्यताबारे विस्तृत धारणा व्यक्त गर्दै दीर्घदृष्टि, उद्यमशीलता र सीपमुखी शिक्षामा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले आफ्नो पारिवारिक व्यवसायिक यात्रालाई स्मरण गर्दै के.सी. समूहको प्रारम्भ करिब ७५ वर्षअघि आफ्ना हजुरबुबा स्वर्गीय कृति बहादुर के.सी.ले स्थापना गर्नुभएको के.सी. कन्स्ट्रक्सन कम्पनीबाट शुरु भएको कम्पनीले समयक्रमसँगै उल्लेखनीय विस्तार हासिल गर्दै फेवा बाँध लगायत विभिन्न राष्ट्रिय गौरवका आयोजनाहरू सफलतापूर्वक सम्पन्न गर्दै हाल करिब २३ वटा कम्पनीहरू सञ्चालनमा रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार, समूहले दक्षिण एसियाकै पहिलो रारा चाउचाउ’ उत्पादनबाट औद्योगिक क्षेत्रमा नयाँ आयाम थपेको छ भने हालसम्म ८ वटा जलविद्युत् आयोजना सञ्चालनमा ल्याइसकेको छ र थप ५ वटा निर्माणाधीन अवस्थामा रहेका छन् । यसरी कुल १३ वटा हाइड्रोपावर परियोजनामा संलग्न रहँदै समूहले ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । हाल समूहले करिब ११० मेगावाट विद्युत् उत्पादन गरिरहेको र विभिन्न क्षेत्रमा विस्तार हुँदै गएको जानकारी पनि उहाँले दिनुभयो ।
त्यसैगरी, क्याम्पस, अपार्टमेन्ट, पूर्वाधार विकास लगायत विविध क्षेत्रमा लगानी गर्दै आएको के.सी. समूहले हाल करिब १२ हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गरिरहेको उल्लेख गर्नुभयो । सामाजिक उत्तरदायित्व अन्तर्गत ‘सूर्य प्रेमा ट्रस्ट’ स्थापना गरी शिक्षा, स्वास्थ्य तथा सामुदायिक क्षेत्रमा भवन निर्माण तथा सहयोगका कार्यक्रमहरू सञ्चालन गरिरहेको समेत उहाँले बताउनुभयो । शिक्षा र सीप विकासबीचको सम्बन्धलाई विशेष जोड दिँदै अध्यक्ष के.सी.ले विद्यार्थीहरूका लागि व्यवहारिक सीप अत्यन्त महत्वपूर्ण रहेको धारणा राख्नुभयो । “कुनै पनि काम सानो वा ठूलो हुँदैन, निरन्तर सिकाइ नै सफलताको आधार हो,” भन्दै उहाँले आफ्नै जीवन अनुभव प्रस्तुत गर्नुभयो । विदेशमा अध्ययनका क्रममा काम गर्दै सिकेको अनुभव स्मरण गर्दै उहाँले जीवनभर सिकाइको प्रक्रिया निरन्तर रहने स्पष्ट पार्नुभयो ।उहाँले विद्यार्थीहरूको भविष्य राष्ट्रको भविष्यसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै अबको शिक्षाले ए आई र सीप विकाससँग सम्बन्धित ज्ञान प्रदान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा के.सी. समूहका मानव स्रोत प्रमुख बुद्धिसागर भण्डारीले समूहको दीर्घकालीन उद्देश्य, रोजगारी सिर्जना, कर्मचारी छनोट प्रक्रिया तथा समझदारीपत्रको औचित्य र अपेक्षित उपलब्धिबारे प्रकाश पार्नुभयो । उहाँले क्याम्पस र उद्योगबीचको सहकार्यले विद्यार्थीहरूलाई व्यावसायिक सीप, इन्टर्नशिप तथा रोजगारीका अवसरहरू विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको समापन गर्दै सभापति तथा क्याम्पसका सहायक क्याम्पस प्रमुख श्री शालिकराम तिमिल्सिनाले सम्पूर्ण सहभागीप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले के.सी. समूह तथा संस्थापक अध्यक्ष सूर्यबहादुर के.सी.लगायत अग्रजहरूको दूरदर्शी सोच र योगदानले यस्तो सहकार्य सम्भव भएको उल्लेख गर्दै यस समझदारीले क्याम्पसको शैक्षिक तथा संस्थागत विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रम सञ्चालन सहायक क्याम्पस प्रमुख युवराज गुरुङले गर्नुभएको थियो ।













