पोखरा, चैत ।
छोरेपाटन माध्यमिक विद्यालयका कक्षा १२ विज्ञान समूहका विद्यार्थीलाई शुभकामना सहित विदाइ गरिएको छ । विद्यालयको संयोजन तथा कक्षा ११ विज्ञान समूहका विद्यार्थीको आयोजनामा आइतबार एक कार्यक्रमका बीच कक्षा १२ का विद्यार्थीको विदाइ गरिएको हो। कार्यक्रममा भनाई राख्दै शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्रबहादुर खत्रीले विद्यार्थीको शैक्षिक सफलताको कामना गर्दै जीवनमा शिक्षा नै महत्वपूर्ण पूँजी भएको उल्लेख गरे। विद्यालय व्यवस्थापन समितिका सदस्य देवीप्रसाद वस्यालले विद्यार्थीको अनुशासन, लगनशीलता र सिर्जनात्मक क्षमताको प्रशंसा गर्दै आगामी जीवन यात्रामा निरन्तर मेहनत र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे।
प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले विद्यार्थीलाई आत्मविश्वास, परिश्रम एवम् नैतिक मूल्य–मान्यताका आधारमा भविष्य निर्माण गर्न प्रेरित गर्दै समयको सदुपयोग गर्दै लक्ष्यप्रति केन्द्रित बन्न सुझाए। सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले आगामी बोर्ड परीक्षाको सफलताको कामना गर्दै सिकेका ज्ञान र सीपले नै भोलिको जीवनको मार्गदर्शन गर्ने स्पष्ट पारे। कक्षा १२ का सुशान्त पौडेलले कार्यक्रम आयोजना गरेकोमा विद्यालय तथा कक्षा ११ का विद्यार्थी प्रति धन्यवाद दिए। कक्षा ११ का विद्यार्थी समृद्धि तिमिल्सीना, सोनियाँ रेग्मी लगायतले दाइदिदीको विदाइ सम्मान अविस्मरणीय हुने सुनाउँदै त्यसक्रममा आफ्ना अनुभव, अनुभूति प्रस्तुत गरे।कार्यक्रमका बीच विद्यार्थीले विभिन्न प्रस्तुति राखे। कक्षा ११ का आयुष बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यार्थी सोनियाँ रेग्मीले स्वागत तथा संचालन विद्यार्थी सुबीर रेग्मी, राजन पौडेल, दीक्षा पोख्रेल र किञ्जल पोख्रेलले संयुक्त रुपमा गरे। बाल विकासदेखि कक्षा १२ सम्म संचालित छोरेपाटन माविमा हाल दुई हजार ३ सय बढी विद्यार्थी अध्ययनरत छन्।जसअन्तर्गत कक्षा ११, १२ तर्फ विज्ञान, शिक्षा, व्यवस्थापन तथा सामाजिक समूहका कक्षा सञ्चालित छन्।














