पोखरा, चैत्र ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले पाकिस्तानको मध्यस्थतामा भएको दुई हप्ते युद्धविराम सम्झौतालाई औपचारिक रूपमा अनुमोदन गरेको छ। मेहर न्युज एजेन्सीमार्फत सार्वजनिक गरिएको वक्तव्यअनुसार नयाँ सर्वोच्च नेता अयातोल्लाह मोज्ताबा खामेनीको स्वीकृतिपछि यो निर्णय लिइएको हो। इरानले उक्त सम्झौतलाई आफ्नो रणनीतिक सफलता भन्दै स्थायी शान्तिका लागि इस्लामावादमा वार्ता हुने जनाएको छ। इरानी पक्षले वार्ताप्रति सावधानीपूर्ण दृष्टिकोण राखेको छ। अमेरिकाप्रति पूर्ण अविश्वास कायम रहेको उल्लेख गर्दै दुई हप्ताको समयसीमा तोकिएको छ, आवश्यक परे सहमतिमा थप गर्न सकिने जनाइएको छ। वक्तव्यमा सम्झौतलाई ‘दुश्मनको आत्मसमर्पण’ को रूपमा व्याख्या गर्दै देशभित्र एकता कायम राख्न आह्वान गरिएको छ। विजयको उत्सव मनाउँदा संयम अपनाउन र विभाजनकारी अभिव्यक्ति नदिन नागरिकलाई आग्रह गरिएको छ।
युद्धविराम भए पनि इरानले आफ्नो सैन्य तयारी यथावत् रहेको संकेत दिएको छ। ‘हाम्रा हात अझै पनि ट्रिगरमै छन्’ भन्ने सन्देशमार्फत कुनै पनि गल्तीको कडा प्रतिकार गरिने चेतावनी दिइएको छ। वार्ताबाट ठोस राजनीतिक उपलब्धि नआएमा राष्ट्रिय माग पूरा नभएसम्म पुनः लडाइँ जारी रहने इरानले स्पष्ट पारेको छ। हालका लागि यो युद्धविरामले पश्चिम एसियामा जारी तनाव केही मत्थर बनाएको छ। इस्लामावादमा हुने भनिएको उच्चस्तरीय वार्ताले क्षेत्रीय द्वन्द्वलाई स्थायी रूपमा अन्त्यतर्फ लैजान्छ वा पुनः युद्धतर्फ धकेल्छ भन्ने विषय अबको केही समयमै स्पष्ट हुने देखिएको छ।














