पोखरा, माघ ।
पोखरा महानगरपालिका वडा नं। १०, रामबजारमा अवस्थित कालिका माध्यमिक विद्यालयले आफ्नो ६२ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह–२०८२ भव्य रूपमा आज सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपकबहादुर थापाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका वडा नं। १० का अध्यक्ष राजेश गुरुङ प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। प्रमुख अतिथि गुरुङले विद्यालयको शैक्षिक प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा विद्यालयका सम्पूर्ण शैक्षिक गतिविधिमा वडा कार्यालयको निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपकबहादुर थापाले प्रस्तुत गर्नुभएको थियो भने विद्यालयका प्रधानाध्यापक श्रीराम आचार्यले विद्यालयको शैक्षिक, भौतिक तथा प्रशासनिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

समारोहमा अक्षयकोष दाताका रूपमा ज्योतिकुन्ज बोर्डिङ स्कुलका संस्थापक बालाकृष्ण शर्मा, भूपू प्रधानाध्यापकको तर्फबाट महेश गुरुङ, विद्यालयका संस्थापक प्रधानाध्यापक देवीरमण न्यौपाने, सहायक प्रधानाध्यापक लक्ष्मीकान्त अधिकारी, विद्यालयको सहयोगी संस्था ‘छोरी’ की कार्यकारी निर्देशक तथा संस्थापक अध्यक्ष हिरा दहाल, शिक्षा महाशाखाका वरिष्ठ अधिकृत कृष्णप्रसाद भण्डारी, विद्यालय व्यवस्थापन समिति सदस्य सीता शर्मा तथा विद्यार्थीको तर्फबाट कक्षा १० मा अध्ययनरत प्रविणा श्रेष्ठले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।

समारोहअन्तर्गत आयोजित शिक्षक सम्मान कार्यक्रममा शिक्षकहरु शिवजी तिवारी, सीमा खत्री, शोभादेवी कोइराला, रानु थापा, शुवाश्री गुरुङ, शशि गुरुङ र आशिष श्रेष्ठ सम्मानित हुनुभएको थियो। यस्तै ‘छोरी’ संस्थाको तर्फबाट विद्यालयमा अध्ययनरत ३१ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको थियो। अक्षयकोषबाट प्राप्त रकममार्फत ७१ जना विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो भने राममन्दिर सञ्चालक समितिको तर्फबाट ३ जना विद्यार्थी पुरस्कृत गरिएको थियो।
अक्षयकोष दाता भू.पू. प्रधानाध्यापक महेश गुरुङले १ लाख १ हजार १११ रुपैयाँ थप गरी अक्षयकोष रकम २ लाख १२ हजार २२२ रुपैयाँ पुर्याउनुभएको छ। साथै ज्योतिकुन्ज बोर्डिङ स्कुलका संस्थापक बालाकृष्ण शर्माको तर्फबाट १ लाख रुपैयाँ थप गरी २ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ। यस्तै विद्यालयका संस्थापक प्रधानाध्यापक देवीरमण न्यौपानेले विद्यालय वृत्तचित्र निर्माणका लागि ५ हजार रुपैयाँ नगद सहयोग गर्नुभएको छ। यस्तै स्वर्गीय राजेन्द्रकुमार पुनको स्मृतिमा धर्मपत्नी मञ्जु पुनको तर्फबाट ५ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

वार्षिकोत्सवको अवसरमा होटल व्यवस्थापन समुहद्वारा तेस्रो कालिका फुड फेस्टिभल,कालिका बागीना क्लबद्वारा विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुति, पुस्तक प्रदर्शनी, विज्ञान प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शनी, स्वास्थ्य शिविर तथा हस्तकला सामग्री प्रदर्शनी समेत आयोजना गरिएको थियो। समारोहमा पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारी, वरिष्ठ अधिकृत बद्रीनाथ सुवेदी, वडा नं. १० का जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरु, भू.पू. प्र.अ तथा शिक्षक, भू.पू. विद्यार्थी,चन्दादाता, शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षक ज्ञानबहादुर थापा र सहायक प्रधानाध्यापक कुशल लामिछानेले संयुक्त रूपमा गर्नुभएको थियो।समारोहले विद्यालय, अभिभावक तथा समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।













