सन्देश श्रेष्ठ पोखरा, माघ २४ ।
प्रतिभा सुपर लिग क्रिकेटको उपाधिका लागि आयोजक प्रतिभा मावि र मदरल्याण्ड सेकेण्डरी भिड्ने भएका छन् । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतिोगिता अन्तर्गत शनिबार भएको सेमीफाइनल खेलमा आयोजक प्रतिभा माविले बाल मन्दिर मावि र मदरल्याण्ड सेकेण्डरीले छोरेपाटन माविलाई पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् । प्रतियोगिताको उपाधि भिडन्त आईतबार पूर्वाह्न १० बजे हुने आयोजक प्रतिभा माविका प्राचार्य किरण सापकोटाले जानकारी दिए । प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो सेमीफाइनल खेलमा मदरल्याण्ड सेकेण्डरीले छोरेपाटन माविलाई २ विकेटले पराजित गर्दै फाईनल यात्रा सुरक्षित गर्यो । टस जितेर पहिले व्याटिङ गर्ने निर्णय गरेको छोरेपाटन माविले निर्धारित २० ओभरमा ८ विकेटको क्षेतीमा ९५ रनको योगफल तयार गर्यो । छोरेपाटन माविका लागि सोहन आचार्यले ३२ बलमा ३१ रन, उज्वल पौडेलले ३८ बलमा २१ र अनिष थापाले १२ बलमा १३ रनको योगदान दिए । छोरेपाटनलाई दवाबमा राख्न मदरल्याण्डका सद्रीस पौडेलले ३ ओभरमा १३ रन खर्चेर ३ विकेट, भुवनबहादुर भण्डारीले ४ ओभरमा १४ रन खर्चेर २ विकेट तथा गौरव भण्डारीले ३ ओभरमा २२ रन खर्चेर १ विकेट लिए ।

९६ रनको मध्यम लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको मदरल्याण्डले १९.२ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेट्टाउँदै फाइनल यात्रा सुनिश्चित गर्यो । मदरल्याण्डका लागि विलोभ मल्लले २६ बलमा १६ रन, भुवनबहादुर भण्डारीले १४ बलमा १४ रन र अनुराज भण्डारीले १६ बलमा ११ रनको योगदान दिए । छोरेपाटनका किस्मत पौडेलले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट, समर्पण लामिछानेले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ३ विकेट तथा अनिष थापाले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए पनि जितका लागि पर्याप्त भएन । खेलमा बिजयी विद्यालय मदरल्याण्डका सद्रीष पौडेल प्लेयर अफ द म्याच घोषित भए ।
शनिबार नै भएको दोस्रो सेमीफाइनल खेलमा आयोजक प्रतिभा माविले बाल मन्दिर माविलाई ७१ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गर्यो । बाल मन्दिरले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि पहिले व्याटिङ गरेको प्रतिभाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५९ रनको विशाल योगफल तयार गर्यो । विशाल योगफल तयार गर्न प्रतिभाका खेलाडीहरु सफल श्रेष्ठले ४५ बलमा ५७ रनको अर्धसतकीय पारी खेले । त्यस्तै, मिसन विकले २३ बलमा २५ रन, सौगात लामिछानेले ४ बलमा १५ रनको योगदान दिए । प्रतिभालाई दवाबमा राख्ने क्रममा बाल मन्दिरका राम ढुंगानाले ४ ओभर बलिङ गर्दै २९ रन खर्चेर २ विकेट, ४ ओभर नै बलिङ गरेका सुमन अधिकारीले १ मेडनसहित ३२ रन खर्चेर २ विकेट र अभिषेक क्षेत्रीले ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर १ विकेट लिए ।
१६० रनको चुनौतिपूर्ण लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको बाल मन्दिर मावि २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर केवल ८८ रनमा समेटिएपछि सेमीफाइनलबाटै प्रतियोगिताबाट बाहिरियो । बाल मन्दिरका लागि सुरज अधिकारीले २२ बलमा २० रन, सुमन अधिकारीले २८ बलमा १७ रन र श्रीनिवास कठायतले ३० बल सामना गर्दै १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । प्रतिभा माविका बलरहरु सफल श्रेष्ठले ३ ओभर बलिङ गर्दै १६ रन खर्चेर ५ विकेट, पुरन गुरुङले १ ओभर बलिङ गर्दै ४ रन खर्चेर २ विकेट तथा निश्चल दाहालले ४ ओभर बलिङ गर्दै १२ रन खर्चेर २ विकेट लिदै बाल मन्दिरको व्याटिङ अर्डर ध्वस्त पारेका थिए । खेलमा प्रतिभा माविका लागि ५७ रन बनाउनुका साथै ५ विकेट लिएका सफल श्रेष्ठ प्लेयर अफ द म्याच घोषित भए ।













