पोखरा, २६ माघ ।
२० औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२६ मा २१ विदेशी सहित १ सय ५१ जनाले सहभागीता जनाउने भएका छन् । प्रतियोगितामा ४५ वर्ष उमेर माथीको प्रतिस्पर्थामा २८ जनाले सहभागीता जनाउने आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिन बहादुर गुरुङले जानकारी दिए । फागुन २ गते पोखरामा हुने म्याराथन पोखरा रंगशालाबाट सुरु भएर विभिन्न भागमा परिक्रमा गरी फेवाताल किनार वाराहीघाटमा पुगेर समापन हुनेछ । प्रतियोगितामा हाफ म्याराथन महिला तर्फ ८ विदेशी सहित १ सय ९० जना, पुरुष तर्फ ८ विदेशी सहित १ सय ८८ जना, १० किमि पुरुष तर्फ ७ विदेशी सहित २ सय ७ जना, महिला तर्फ ६ विदेशी सहित ८६ जनाले प्रतियोगितामा भाग लिने छन् । अन्य प्रतियोगिता र रनफर रनमा गरि करिब १० हजार बढि जनाले दौडने अध्यक्ष गुरुङले बताए ।
भूतपूर्व खेलाडी मञ्च नेपाल आयोजनामा हुन लागेको उक्त म्याराथनको मूल नारा ‘स्वास्थ्यको लागि, पोखराको लागि’ रहेको छ । सुजल डेरी प्रालिको उत्पादन सफल दूध यसको मुख्य प्रायोजक हो । प्रतियोगिताको विजेताले ४ लाख, दोस्रोले २ लाख, तेस्रोले १ लाख तथा चौंथोले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । गण्डकी प्रदेशका खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले गण्डकी उत्कृष्ट विधाको व्यवस्था गरिएको छ भने यसै संस्करणमा ‘म्याराथन नेपाल’ विधा पहिलो पटक समावेश गरिएको छ ।













