पोखरा, २६ माघ ।
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ ।बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आज दोस्रो चरणका सम्पूर्ण खेल सकिएको खेल संयोजक निकेश गुरुङले बताए । उनका अनुसार आज भएको पहिलो खेलमा डेभिजफल्सले रामघाट रेडलाई १–० गोल अन्तरले पराजित गर्दै डेझिजफल्स प्रिक्वाटरफाइनलमा प्रवेश गर्यो । डेभिजफल्सको जीतमा रविन्द्र केसीले निर्णायक गोल गरे । यसैगरी दोस्रो खेलमा लभ्ली ब्वाइज हेमजाले मुस्ताङ युनाइटेडलाई २–० गोल अन्तरले हरायो । लभ्ली ब्वाइजको जीतमा सविन थापा र रोहित नेपालीले समान १र१ गोल गरे ।
तेस्रो खेलमा लामागाउँ गुम्बाले कमलपोखरी एफसीमाथि १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । लामागाउँको जीतमा सरोज तामाङले निर्णायक गोल गरे । चौंथो खेलमा स्याङ्जा युथ क्लबले सुजन डल्ला एफसीलाई ३–१ गोल अन्तरले पराजित गर्यो । स्याङ्जाको जीतमा राजेश राजपाल र समिर पुरीले समान १र१ गोल गरे । भने, डल्ला एफसीको तर्फबाट प्रसन्न श्रेष्ठले सान्त्वना १ गोल फर्काए । एनएसवाइसी पुरुन्चौर र एन्जो ग्रुपबीच भएको पाँचौ खेल गोलरहित भएपछि पेनाल्टी सुटआउटमा पुरुन्चौरले २–१ गोल अनतरले पराजित गर्दै प्रिक्वाटरफाइनलमा स्थान बनायो । सिक्स भर्सेस सेभेनु यस्तै आज भएको अन्तिम खेल निकै रोचक बन्यो । मिक्की एफसी र रामघाट ह्वाइटबीच भएको खेलमा १४ औं मिनेटमा रामघाटका सुदेश गुरुङले पहिलो गोल गरे ।त्यसपछि खेलको दोस्रो हाफको २१ औं मिनेटमा मिक्की एफसीका अमिर गुरुङले १ गोल फर्काउदै खेल बराबरीमा ल्याए । त्यसपछि निकै प्रतिस्पर्धात्मक बनेको खेलमा रामघाटका डिफेण्डर निशान श्रेष्ठ रातो कार्डको शिकार बने ।
रामघाट ६ जना खेलाडीमा सिमित बन्यो । तर, त्यसको फाइदा भने मिक्की एफसीले उठान सकेन । रामघाटमाथि हाबी भएपनि खेलको २९ औं मिनेटमा रामघाटका लागि सुदेश गुरुङले अर्को गोल गर्दै दोब्बर बनाए । अन्त्यमा त्यही गोल निर्णायक बन्यो । र, रामघाट ह्वाइट प्रिक्वाटरफाइनलमा प्रवेश गरेको क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । उनका अनुसार अब मंगलबार प्रिक्वाटरफाइनलका ८ खेल हुनेछ । प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।













