पोखरा, २६ फागुन ।
प्रतिनिधिसभामा कास्की २ बाट प्रत्यक्ष तर्फ उमेदवारी दिएका नेपाली काँग्रेसका माधबप्रसाद बाँस्तोला लडेर घाइते भएका छन्। निर्वाचन क्षेत्रमा मतदातासंग भेटघाट गर्ने क्रममा लडेर घाइते भएका बाँस्तोलाको देब्रे हात भाँचिएको र शरीरको अन्य स्थानमा पनि चोट लागेको छ। बाँस्तोला पोखरा महानगरपालिका ११ फुलबारी स्थित एक मतदाताको घरमा पुगेर फर्किने क्रममा सोहि घर बाहिरको सिंढीमा चिप्लिएर लड्न पुगेका थिए। सोहि कारणले उनको देब्रे हात भाँचिएको थियो।

मणिपाल शिक्षण अस्पताल फूलबारीमा उपचार गराइरहेका बाँस्तोलाको उपचारमा संलग्न चिकित्सकका अनुसार उनको देब्रे हातको नाडी नजिकको भाग भाँचिएको र अपरेसन गर्नुपर्ने भएको छ। आइतबार बेलुका प्रारम्भिक उपचार पछि बाँस्तोलालाई मणिपाल शिक्षण अस्पतालमा राखिएको र सोमबार बिहान शल्यक्रिया सम्पन्न भई उहाँ स्वास्थ्यलाभको क्रममा हुनुहुन्छ । बिभिन्न क्षेत्रका सामाजिक तथा राजनितीक ब्यक्ती तथा संस्थाहरुले सामाजिक संजालमा उहाँको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् ।













