पोखरा,१२चैत्र ।
लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ५ समिभञ्ज्याङमा विगत २५ वर्षदेखि क्रियाशील कायापलट असल शासन क्लबको आयोजनामा चैते दशैँको अवसरमा आज प्रथम खुला हाल्फ अल्ट्रा म्याराथन सम्पन्न भएको छ । उद्घाटन सत्रका प्रमुख अतिथि मध्यनेपाल नगरपालिकाका मेयर रमेश पाण्डेले रिवन काटेर दौड उद्घाटन गर्नुभएको थियो। मेयर पाण्डेले मध्यनेपाल आफैमा ऐतिहासिक एवम् धार्मिक महत्त्व बोकेको स्थल भएको र यस्ता खालका कार्यक्रमले झन् यस क्षेत्रको प्रचारप्रसारमा सघाउने कुरामा जोड दिनुभयो। वडा नं.७ करापुटारमा अवस्थित प्रसिद्ध धार्मिक स्थल इशानेश्वर महादेव मन्दिर प्राङ्गणबाट सुरु भएको दौड वडा नं। ६ भोर्लेटार हुँदै मध्यनेपाल नगरपालिका वडा नं.५ समिभञ्ज्याङको विभिन्न स्थानीय बस्ती हुँदै तान्द्राङकोट नागभैरव थानमा गएर समापन भएको थियो।

देशका विभिन्न क्षेत्रबाट ८० जना धावकहरू सहभागी रहेको दौडमा गोरखाका धावक निरज भट्ट क्षत्रीले निर्धारित २१ किलोमिटरको दूरी १ घण्टा ३२ मिनेट ४८ सेकेन्डमा पार गरी प्रथम भइ नगद ४० हजार रुपियाँ, ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। रामेछापका श्याम लामा भोटेले १ घण्टा ३४ मिनेट २८ सेकेन्डमा पार गरी दोस्रो भएर नगद २५ हजार रुपियाँ, ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।त्यस्तै स्याङ्जाका धावक धनु मानन्धरले १ घण्टा ३४ मिनेट ५४ सेकेन्डमा पार गरी तेस्रो स्थान हासिल गरी नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने तनहुँका सनम गुरुङ,रामेछापका अमित राई,सोलुखुम्बुका मिलन कुलुङ,भोजपुरका उमेश बिष्ट , तनहुँका आदित्य जि.सि. र नवलपुरका रिखुलाल सिञ्जालीले सान्त्वना पुरस्कार स्वरूप नगद ३ हजार रुपियाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
पुरस्कार वितरण एवम् समापन समारोह क्लबका अध्यक्ष बाबुराम मल्लको अध्यक्षता र वडा नं. ५ का वडा अध्यक्ष ओम वीर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। तान्द्राङकोट पैदल मार्ग पर्यटन विकासका अध्यक्ष मेम बहादुर गुरुङले तान्द्राङकोटको ऐतिहासिक तथा धार्मिक महत्त्वका बारेमा प्रकाश पार्नुभएको थियो। वडा अध्यक्ष गुरुङले समुन्द्री सतहदेखि करिब १५०० मिटरको उचाइमा रहेको यो क्षेत्र बिस्तारै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको बताउनुभयो।कार्यक्रममा रेफ्रीहरू विश्वास के।सी। र सञ्जित काफ्लेलाई सम्मान गरिएको थियो । व्यास नगरपालिका वडा नं.५ का अध्यक्ष हिमाल श्रेष्ठ , स्थानीय समाजसेवी देवप्रसाद श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम क्लबका सचिव इभन जोशीले सञ्चालन गरेका थिए।














