पोखरा, चैत्र ।
पोखरा महानगरपालिका–१४, काजीपोखरीस्थित प्रतिष्ठित शैक्षिक संस्था कालिका बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई भावनात्मक वातावरणबीच सम्मानपूर्वक विदाइ गरिएको छ । कक्षा ११ का विद्यार्थीहरूको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले शैक्षिक जीवनको एक महत्वपूर्ण अध्याय समापन गर्दै नयाँ यात्राको थालनीतर्फ अग्रसर विद्यार्थीहरूलाई उत्साह, प्रेरणा र शुभकामनाले भरिपूर्ण बनाएको थियो । क्याम्पस प्रमुख प्रा। बिरन्जी गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कक्षा ११ का छात्रा सन्ध्या थापाको सभापतित्व रहेको थियो । कार्यक्रममा सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिना, युवराज गुरुङ, शिक्षा विभाग प्रमुख लोकनाथ सुवेदी, मानविकी विभाग प्रमुख सूर्यराज पौडेल, उप–प्राध्यापकहरु, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उपस्थित सबैको सहभागिताले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं क्याम्पस प्रमुख प्रा। गौतमले विद्यार्थीहरूलाई आगामी बोर्ड परीक्षामा सफलताको शुभकामना व्यक्त गर्दै जीवनमा शिक्षा नै सबैभन्दा ठूलो पूँजी भएको उल्लेख गर्नुभयो । उहाँले विद्यार्थीहरूलाई आत्मविश्वास, परिश्रम र नैतिक मूल्यमान्यताका आधारमा आफ्नो भविष्य निर्माण गर्न प्रेरित गर्नुका साथै आज सिकेका ज्ञान र सीपहरूले नै भोलिको मार्गदर्शन गर्ने उल्लेख गर्नुभयो । शिक्षा विभाग प्रमुख लोकनाथ सुवेदीले कक्षा १२ का विद्यार्थीहरूको अनुशासन, लगनशीलता र सिर्जनात्मक क्षमताको प्रशंसा गर्दै आगामी जीवन यात्रामा निरन्तर मेहनत र सकारात्मक सोचका साथ अघि बढ्न सुझाव दिनुभयो । त्यसैगरी सहायक क्याम्पस प्रमुख युवराज गुरुङले विद्यार्थीहरूलाई समयको सदुपयोग गर्दै लक्ष्यप्रति केन्द्रित रहन आग्रह गर्नुभयो । कार्यक्रममा कक्षा ११ का विद्यार्थी प्रतिनिधिहरू प्रतिक्षा आले, मेलिना गुरुङ तथा अन्यले आफ्ना अनुभूति र शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कक्षा १२ का विद्यार्थीहरूको तर्फबाट रचना सुनार र कृष्ण गुरुङले धन्यवाद ज्ञापन गर्दै क्याम्पसबाट प्राप्त ज्ञान, माया र मार्गदर्शनप्रति कृतज्ञता व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन रेजिना जी।सी। र अविरल सापकोटाले गरेका थिए ।

कार्यक्रम भावनात्मक, आत्मीय र स्मरणीय वातावरणमा सम्पन्न भएको थियो । विद्यार्थीहरूबीचको मित्रता, शिक्षकहरूको माया र संस्थाको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै धेरैजसो विद्यार्थीहरू भावुक बनेका थिए । यो विदाइ केवल औपचारिकता नभई जीवनको नयाँ मोडमा उभिएका विद्यार्थीहरूको लागि प्रेरणादायी क्षण बनेको सहभागीहरूले बताएका छन् । कालिका बहुमुखी क्याम्पस नेपालकै उत्कृष्ट सामुदायिक क्याम्पसमध्ये एकका रूपमा स्थापित हुँदै आएको छ । यहाँ विद्यार्थीहरूको समग्र विकासका लागि विभिन्न नन–क्रेडिट कोर्ष अन्तर्गत मण्टेसरी तालिम, स्थलगत भ्रमण, उद्यमशीलता लगायतका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । साथै शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धिका लागि अनुसन्धानात्मक लेखन, कार्यशाला, फ्याकल्टी डेभलपमेन्ट कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जस्ता गतिविधिहरू नियमित रूपमा सञ्चालन हुँदै आएका छन् ।
हाल क्याम्पसमा कक्षा ११ र १२ मा विज्ञान, शिक्षा, व्यवस्थापन तथा मानविकी अन्तर्गत कक्षाहरु सञ्चालनमा रहेका छन् भने स्नातक तहमा शिक्षा, व्यवस्थापन र मानविकी तथा स्नातकोत्तर तहमा एम।बिबि एस। र एम। ए। आरडि।कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । निकट भविष्यमा बि।बि।ए।, बि।एच।एम। लगायतका नयाँ कार्यक्रमहरू सञ्चालन गर्ने तयारीसमेत क्याम्पसले अघि बढाएको छ । यस प्रकारका कार्यक्रमहरूले विद्यार्थीहरूमा आत्मविश्वास, सामाजिक उत्तरदायित्व र भविष्यप्रतिको स्पष्ट दृष्टिकोण विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । विदाइ कार्यक्रमले केवल बिदाइ मात्र नभई जीवनको नयाँ अध्यायतर्फ अग्रसर हुन प्रेरित गर्ने एक सशक्त माध्यमको रूपमा स्थापित भएको छ ।














