पोखरा, चैत्र ।
अमेरिका र इजरायलले मंगलबार इरानका विभिन्न स्थानहरूमा सैन्य आक्रमण गरेका छन्। तीमध्ये सबैभन्दा ठूलो प्रहार खार्ग द्वीपमा भएको बताइएको छ, जुन इरानको प्रमुख तेल निर्यात केन्द्र मानिन्छ। उक्त स्थानबाट देशको करिब ८० देखि ९० प्रतिशत कच्चा तेल बाहिरिने गर्छ। यसैक्रममा कोम र काशान क्षेत्रमा रहेका पुलहरूलाई लक्षित गर्दै पनि आक्रमण गरिएको छ। काशान नजिकको यहयाबाद रेलवे पुलमा भएको प्रहारमा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। त्यस्तै उत्तर–पश्चिमी इरानको तबरिज–जंजान राजमार्गमा पर्ने पुलमा पनि तीव्र आक्रमण भएको जानकारी आएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई होर्मुज जलडमरूमध्य खुला गर्न समयसीमा दिएका थिए। अमेरिकी समयअनुसार मंगलबार राति ८ बजेसम्म सो मार्ग सञ्चालनमा नआए महत्वपूर्ण नागरिक संरचनामाथि आक्रमण गरिने चेतावनी उनले दिएका थिए।
हालैका आक्रमणपछि इरानले पनि प्रतिउत्तरस्वरूप इजरायल र खाडी क्षेत्रका केही स्थानमा हमला गरेको जनाएको छ। इरानले संयुक्त अरब इमिरेट्स (यूएई) को दूरसञ्चार संरचनालाई समेत निशाना बनाएको बताइएको छ।यसअघि नै इरानले आफ्नो भौतिक संरचनामाथि आक्रमण भए कडा प्रतिक्रिया दिने चेतावनी दिएको थियो। सोही अनुसार उसले अमेरिका र उसका सहयोगी राष्ट्रहरूलाई लक्षित गर्दै थप कारबाही गर्ने संकेत गरेको छ।














