एसओएस हरमन माइनर स्कुल गण्डकीका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको बिदाइ समारोह सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच उनीहरूलाई बिदाइ गरिएको हो । कक्षा ११ का विद्यार्थीहरूको आयोजनामा सम्पन्न कार्यक्रमको सभापतित्व विद्यालयका प्राचार्य चूडामणि सुवेदीले गरेका थिए ।
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव हेमराज सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा एसओएस बालग्रामका राष्ट्रिय निर्देशक डा. गङ्गाबहादुर गुरुङले विशेष आतिथ्य ग्रहण गरेका थिए । समारोहमा एसओएस स्कुल गण्डकीका सहप्राचार्य वीरसिंह बूढा, तथा विद्यालयका शैक्षिक संयोजक खगेन्द्रराज बरालले विद्यालयले प्राप्त गरेको सफलताको चर्चा गर्दै बिदाइ भएर जाने विद्यार्थीहरूको उत्तरोत्तर प्रगतिको कामना गरे ।
बिदाइ भएर जाने विद्यार्थीहरूको सम्मानमा कक्षा ११ ले विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । समारोहमा विद्यालयबाट एमबीबीएस, बीई, तथा राष्ट्रका विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल भूतपूर्व विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो । बिदाइ भएर जाने कक्षा बाह्रका विद्यार्थीहरूलाई एसओएस बालग्रामका राष्ट्रिय निर्देशक गङ्गाबहादुर गुरुङ, गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य, विद्यालयका प्राचार्य चूडामणि सुवेदी, सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेलले संयुक्त रूपमा अबिर र मालासहित मायाको चिनो प्रदान गरे ।
आफू एसओएस गण्डकीको शिक्षक रहँदाको क्षण स्मरण गर्दै समारोहका विशेष अतिथि डा. गङ्गाबहादुर गुरुङले शैक्षिक उत्कृष्टताका क्षेत्रमा विद्यालयले हासिल गर्दै आइरहेको सफलताप्रति आफूलाई गौरवबोध हुने बताए । कार्यक्रममा एसओएस युवालय गण्डकीका प्रमुख बाबुराम बराल, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन गण्डकीका अध्यक्ष टीकाराम सुवेदीलगायतका अतिथिहरूको समेत उपस्थिति थियो ।
गुणस्तरीय शिक्षाका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आइरहेको एसओएस गण्डकीको सराहना गर्दै प्रमुख अतिथि हेमराज सुवेदीले विद्यार्थीहरूलाई आआफ्ना रुचिका क्षेत्रमा मिहिनेत र लगनका साथ अघि बढ्न शुभकामना दिए । सामाजिक विकास मन्त्रालयको दायित्वभित्र शिक्षा पनि समेटिएको र एसओएस गण्डकीलाई प्रदेश सरकारले उपलब्ध गराउँदै आएको सहयोगलाई आगामी दिनमा निरन्तरता दिन आफू प्रतिबद्ध रहेको पनि सुवेदीले बताए ।
समारोहमा कक्षा ११ की छात्रा अनुष्का बस्नेत तथा कक्षा १२ का छात्र आयुष अधिकारी र छात्रा सम्पदा पराजुलीले बिदाइ मन्तव्य राखेका थिए भने कक्षा ११ का विद्यार्थीहरू स्नेहा पौडेल, अदिती सुवेदी, सन्ध्या आचार्य र नितिशा बस्ताकोटीले कार्यक्रम सञ्चालन गरेका थिए ।