बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रिवनमा विद्यार्थीहरु कक्षा ५ सम्मको मात्रै विद्यालय भएकाले दैनिक चार घन्टा आउजाउको पैदलयात्रापछि मात्रै शान्ति माध्यमिक विद्यालयमा आएर अध्ययन गरिरहेको छन् ।
गाउँमै माध्यमिक शिक्षासम्मको अध्यापन नहुँदा बिहान दुई घन्टा र बेलुका दुई घन्टा हिँडेर विद्यालयमा आएर अध्ययन गर्ने गरेको विद्यार्थीहरु बताछन् । त्यस्तै अत्यधिक वर्षा र हिमपातजस्ता प्राकृतिक प्रकोपको समयमा विद्यालय पुग्न नसक्ने विद्यार्थीको भनाइ छ ।
वडा नं ६ को पात्लेखेत र भित्रिवनबाट खुङ्खानीको विद्यालयमा आउन र जान दैनिक चार घन्टा पैदल हिँड्नुपर्दछ भने नर्जाखानीबाट आउन जान दुई घन्टाको पैदलयात्रापछि विद्यालय पुग्न सकिन्छ । नर्जाखानीमा ८ देखि १० सम्म अध्ययन हुने विद्यालय नुहँदा खुङ्खानी पुग्नुपर्ने बाध्यता छ ।
खुङ्खानीको सोही वडाकै गाउँ थास्पुरीबाट विद्यालय आउन जान दैनिक दुई घन्टा लाग्ने गरेको कक्षा १० मा अध्ययन गर्ने विपना सुन्चौरीले बताए । विद्यालय आउनजानै धेरै समय खर्च हुने भएकाले राम्रोसँग गृहकार्य गर्न नपाउने सुन्चौरीको भनाइ छ । वर्षा र बाढीपहिराको समयमा विद्यालय आउन जानै समस्या हुने गरेको सुन्चौरीको भनाइ छ ।
पछिल्लो समय विद्यालयको शैक्षिक अवस्था सुधार हुँदै गए पनि दुर्गमका कारण अझै टाढाबाट विद्यालय आउनुपर्ने बाध्यता रहिआएको शान्ति माविका प्रधानध्यापक सत्यनारायण सिंहले जानकारी दिए ।
भौगोलिकरूपमा निकै विकट तथा थोरै जनसङ्ख्या भएकाले तमानखोला गाउँपालिकामा माध्यामिक तहका जम्मा तीनवटा मात्रै विद्यालय भएकाले कक्षा ९ र १० अध्ययन गर्नका लागि छ वडामध्ये तीनवटा वडाका विद्यार्थी छिमेकी वडामा पुग्नुपर्ने बाध्यता रहेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए । गाउँपालिकाले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको भन्दै लगानीअनुसार शान्ति माविले प्रतिफल दिन थालेको उहाँको भनाइ छ ।