पृथ्वीचोकमा हङकङ बजारका व्यवसायीहरु ठेकेदारी तथा विचौलिया प्रथाको विरोधमा धर्ना कार्यक्रम गरेका छन् । हंकङ बजारका साना व्यापारीहरुलाई, नलगाउ छेऊ, उचित भाडादर कायम गरी, खान देऊ’ मन्ने मूल नाराका साथ टेन्डर खारेजका लागि पोखरा हङकङ बजार व्यवस्थापन समितिको आयोजनामा धर्ना बसेका हुन् । ठेकेदारी तथा विचौलिया प्रथाको अन्त्य गर्न, चार सय प्रतिशत भन्दा बढी भाडा वृद्धि गरिएको गोप्य बोलपत्र आह्वान खारेज गर्नका लागि सहभागिहरुको माग रहेको थियो ।
त्यसैगरी २०६९ सालको पोखरा नगर पालिकाको सम्झौता कार्यन्वयन गर्न, कृषि सामग्री कम्पनीको जग्गाको उचित भाडादर कायम गरि सिधै कृषि सामग्री कम्पनीले उठाउने व्यवस्था गर्न समेत माग गरिएको थियो ।साना व्यवसायीहरुलाई गरि खान देउ, पोखरा हंकङ बजारको ठेकेदारी प्रथाको अन्त्य गर भन्ने नारा लगाइएको थियो । व्यवसायीको माग पूरा नभएमा स्टलको भाडा कसैलाई पनि नदिने समितिका अध्यक्ष वसन्ती गुरुङको भनाई छ ।
कृषि साम्रगी कम्पनीको स्वामित्वमा रहेको ७ रोपनी जग्गा कम्पनीले न्यूनतम १२ लाख १५ हजार भाडा दिन सिलबन्दी बोलपत्र आह्वान गरेपछि अहिलेको भन्दा ४ सय प्रतिशत बढाएर बोलपत्र आह्वान गरेको व्यवसायीको गुनासो छ । फुटपाथ व्यवसायीहरुलाई हङकङ बजारमा व्यवस्थापन गरेपनि अहिले टेण्डरमार्फत भाडामा लगाउँदा राज्यलाई नभएर ठेकेदारलाई फाइदा पुग्ने व्यवसायीको भनाइ छ । व्यवसायीहरुको माग सक्बोधन नभएमा सम्पूर्ण व्यवसायीहरु पुर्न फुटपाथमै व्यवसाय गर्ने चेतावनी दिएका छन् ।