बालबालिकामा मात्र देखिने रक्त अल्पताजन्य रोग थालसेमियाको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाउनु पर्ने पीडितहरुले माग गरेका छन् । शरीरमा बिस्तारै रगतको मात्रा कम हुँदै जाने र पटक पटक रगत चढाउनुपर्ने लगायत उपचारमा धेरै रकम खर्च हुने हुँदा गरिब र विपन्नले आफ्ना सन्तानको उपचार गराउन नसक्ने अवस्था रहेको भन्दै उक्त माग गरेका हुन् ।
कान्ति आरोग्य अस्पताल नेपालगञ्जका सञ्चालक तथा बालरोग विशेषज्ञ डा. रोमा बोराले सिकलसेल उपचारका लागि सरकारले एक लाख रुपियाँ उपलब्ध गराउँदै आए पनि थालसेमियाको लागि कुनै व्यवस्था नगरेकाले उपचार पनि निःशुल्क हुनुपर्ने बताए ।
पछिल्लो समय बालबालिकामा रगतको कमी हुने थालसेमिया रोगको समस्या लिएर आफुकहाँ निदानको लागि आउनेहरुको संख्या बढ्दै गएको उनको भनाइ छ । डा. बोराले कान्ति आरोग्य अस्पतालमा बाँके, बर्दिया, दाङ्ग र कैलालीलगायतका जिल्लाबाट थालसेमिया रोगको समस्या लिएर आउने बालबालिकाको संख्या बढ्दैगएको उनले बताए ।
हाल करिव ६०–६५ जना थालसेमियाबाट पीडित बालबालिकाहरु उपचारका लागि अस्पतालमा आइरहेको र यीमध्ये करिव १३ जना नेपालगञ्जका विभिन्न समुदायका समेत बालबालिका रहेको अस्पतालले जनाएको छ । कान्ति आरोग्य अस्पतालले त्यहाँ आउने थालसेमियाका विरामीलाई बेड चार्जदेखि चिकित्सकको फिस र कुरुवा बस्ने सुबिधा निःशुल्क उपलब्ध गराइएको छ । त्यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाले अस्पताललाई सहयोग गरेको छ ।
एक जना थालसेमियाको विरामीको उपचारको लागि बार्षिक करिव २ लाख रुपियाँसम्म खर्च लाग्ने हुँदा आफुहरुले बार्षिक त्यति ठूलो रकम खर्च गर्न नसक्ने अधिकांश पीडित अभिभावकको भनाइ छ ।
