कपिलवस्तुका अनिरुद्ध पब्लिक माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा चेकजाँच गर्न सुरु भएको छ । विद्यार्थीलाई लक्षित गर्दै नेपाल नेत्र ज्योति सङ्घ तौलिहवा आँखा अस्पतालले कपिलवस्तुको यशोधरा गाउँपालिकाबाट आँखा चेकजाँच गर्न सुरु भएको हो ।
अस्पतालले गाउँपालिकाको वडा नम्बर ५ बैदौलीस्थित अनिरुद्ध पब्लिक माविमा अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गरिएको थियो । विद्यालयमा अध्ययनरत ५९८ जना विद्यार्थीको आँखा परीक्षण भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मनोजकुमार श्रीवास्तवले बताए ।
अस्पतालले दृष्टि समस्या देखिएका २३ विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरेको थियो । अस्पतालका दृष्टि विशेषज्ञ प्रमोद यादव नेतृत्वको टोलीले आँखा परीक्षण गर्नुभएको थियो । ग्रामीण भेगका विद्यार्थीको अस्पतालको पहुँच नभएको र विपन्न परिवारले उपचारमा चासो नदिने भएकाले विद्यालयमा पुगेर आँखा चेकजाँच गरेको सङ्घका सदस्य खगप्रसाद चापागाईँले बताए ।
अस्पतालले उपकरणसहित विद्यालयमा आएर आँखा परीक्षण गर्दा विद्यार्थीलाई सहज भएको विद्यालयमा प्रअ रमेश नाथ पाण्डेले बताए । अस्पतालले स्कुल स्क्रिनिङ्ग कार्यक्रम २१ विद्यालयका पाँच हजार ३०९ जना विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरेको बताइएको छ ।