ताँजाकोट गाउँपालिका–१ काँडागाउँको जनप्रकाश माध्यामिक विद्यालयका कक्षा कोठामा भल पसेपछि विद्यार्थीलाई चौरमा राखेर पढ्नुपर्ने बाध्यता भएको छ । दुई दिनदेखि परेको वर्षाको कारण भल कक्षामा पसेपछि कोठा हिलाम्मे हुँदा विद्यार्थी चौरमा बसेर पढ्न बाध्य भएका हुन् ।
जनप्रकाश माध्यामिक विद्यालयका प्रधानाध्यापक दलपति खड्काले दुई दिनको वर्षाले पानीको भल कक्षा कोठामा पस्दा विद्यार्थीलाई विद्यालयको चौरमा पठनपाठन गर्नु परिरहेको बताए । भल पसेपछि छ वटा कोठा हिलाम्मे भएका छन् । कक्षा तीन र छदेखि १० कक्षा गरेर छ वटा कोठामा हिलोसहित पानीको भल पसेपछि सबै विद्यार्थीलाई चौरमा राखेर पढाउन थालिएको हो ।
कक्षा कोठाको पछाडीको भाग पहिरोले गएको कारण पानी पर्ने बित्तिकै कक्षामा भल छिर्ने उनको भनाइ छ । पहिरो नियन्त्रण नभएसम्म यो समस्या बारम्बार भोग्नुपर्ने अवस्था रहेको प्रधानाध्यापकले बताए ।
