Sunday, May 19, 2024

आजको मिति: २०८१ जेष्ठ ६ ,आईतवार

TRENDING
  Latest
कानुनी सचेतना कार्यक्रम सम्पन्न
नवलपुरमा गैँडा र पाटे बाघ मृत फेला
ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु
वनमा आगो लगाउने एक जना पक्राउ
Next
Prev

खोटाङ हलेसीदेखी पाथीभरा, बराहक्षेत्र हुँदै पोखरा

शिवजी तिवारी

दिनभर आफूसँगै रहने सूर्य साँझमा टाढा कतै बिलाएपछि धरतीको अनुहार अँध्यारोले छोपिदिन्छ।यहाँका हरेक मान्छेहरुको जीवन त्यही अध्यारोमा कोरिएका बांगाटिंगा धर्साहरू नै हुन्।मेरो जीवन पनि त्यही धर्साहरूमा बग्दैबग्दै यहाँसम्म आइपुगेको हो। कतिपयको जीवनमा ती धर्साहरू टुक्रिन्छन् र व्यर्थ हुन्छन्।
बहकिने मन एकतमसा भएको छ।केहि लेख्ने चाहानाले छट्पटी भएको छ।लेख्ने के ?किन लेख्ने? मेरो लेखाइका पाठक छ्न कि छैनन् ?यदी पाठक छन भने उनीहरु मेरो लेखबाट सन्तुष्ट छन कि छैनन् ? यस्तै दुबिधामा थिएँ। केही साथी र पाठकहरूले लेख्नका लागि प्रेरित गरिरहनुभयो । मैले उहाँहरूको प्रेरणाबाट प्रेरित हुनु आवश्यक ठानेर लेख्न थालेँ।सम्झनाको पोकोमा भएका सबैलाई लेख्दा त्यो लेखाइ अव्यवस्थित हुन्छ। निश्चित संरचनामा ढाल्नु, व्यवस्थित गर्नु र कलात्मक बनाउने चुनौती स्विकार्दै लेख्दै छु ।
फेरि उही यात्रा……
हलेसीको दर्शन सकिएपछि हामीले हाम्रो यात्राको सबैभन्दा कठिन ठानिएको पथिभरा यात्राको सुरुवात गर्यौँ। हलेसीदेखी  झण्डै ३५० कि.मि टाढा फिक्कल गएर बस्ने पुर्वयोजना अनुरुप हामी मध्यान्ह १२ बजे हलेसीबाट हिँड्यौँ। मध्यपहाडी लोकमार्ग हुँदै दुधकोशी नदी पार गरेर करिब ५ घण्टाको यात्रा पश्चात् उदयपुरको कटारी पुगियो । त्यहाँ झरेर चिया खाजा खाएपछि पुन हामीले यात्रालाइ निरन्तरता दियौं । रातिको १२ बजेतिर हामी फिक्कल पुग्यौं । बिहान ७ बजे  ताप्लेजुङको यात्रा सुरु भयो। करिब ११ बजेको हुँदो हो,  इलाम र पाचथरको सिमानामा पर्ने राँके भञ्ज्याङ् पुगियो। स्थानीय एक होटेलमा चौरीको घ्यूसँग निकै स्वादिलो खाना खाइयो। गर्मी मौसम भएपनि जाडो नै लाग्ने राके भञ्ज्याङ्बाट मौसम सफा भएको हुँदा झापाको समथर फाँटहरुसँगै हिमाल पनि देख्न पाइयो। गर्मी याममा पनि हल्का जाडो भएको महसुस भएर स्थानीयसँग जाडो याममा कस्तो हुन्छ भनेर जिज्ञासा राखेको स्थानीय एक दिदिले ठट्यौली पाराम “जाडोको कुरै नगरौं । तीनपाने नलगाई टीक्नै सकिँदैन” भन्नुभयो।
खाना खाएर म र प्रकाश भण्डारी सर केहि अगाडिसम्म पैदल हिँड्न थाल्यौं । केहि अगाडि बढ्ने बित्तिकै चोकमा अकबरी खुर्सानीको प्रतिमा देखेपछि निकै उत्सुकता जाग्यो । स्थानीय विशेषताको बारेमा बुझ्दा राँके भञ्ज्याङ्  सानोतिनो ब्यापारीक केन्द्र नै रहेछ। यहाँ मुख्यतः  नगदेबाली आलु, आलैची, अदुवा आम्लिसो, जडिबुटीहरु चिराइतो लोठसल्ला इत्यादि यो बजारमा बिक्रिबितरण गरिने रहेछ।यहाँको स्थानीय उत्पादनको बारेमा बुझ्न खोज्दा निकै लामो लिस्ट सुन्न पाइयो। स्थानीयको अनुसार यो ठाउँमा चमैता, एकतप्पा, फक्फोक, फाक्तेप, चिलिङ्देन, इम्बुङ, आलु, अकबारे खुर्सानी, स्कुस, स्कुसको जरा, सखरखण्ड, घर तरुल, सिमल तरुल, आम्वक, आरु, नास्पाति, लसुन तथा प्रशस्त दुधको उत्पादन हुने भएकाले चिज उत्पादन हुने रहेछ ।घिउ , छुर्पी र खुर्सानीले यो बजार झन रमणिय बनाएको भान भयो ।
पहाडको साँगुरो नागबेली बाटो । हामिलाइ ठुलो फेदी गएर बास बस्नुथियो।गाडी आफ्नै रफ्तारमा अगाडि बढ्न थाल्यो । साँझको ६ बजे ताप्लेजुङको फुङलिङ बजार पुगियो। फुङलिङबाट डेढ घण्टाको जीपको यात्रा पछि हामी सुकेटार पुग्यौं ।हाम्रो टोलि, सुकेटारमा भोलिपल्टको लागि आवस्यक पुजासामग्री र एकएक वटा टेक्ने लठ्ठी बोकेर उकालो उक्लन थाल्यौं । बिचबिचमा यात्रुलाई सहयोग पुगोस् भनेर बिश्रामस्थल निर्माण गरिएको रहेछ। तिनै बिश्रामस्थलमा आराम गर्दै भजन गाउँदै हाम्रो टोलि अगाडि बढिरह्यो। झन्डै डेढ घण्टा उकालो उक्लिएपछी गुराँसे डाँडामा रहेको करुणा गेस्ट हाउसमा पुगियो। खाना खाएर निकै साँगुरा कोठामा प्रती कोठा ६ जनाको दरले आराम गर्यौँ। तिर्थालु भक्तजनहरु रातभर जसो हिँडिरहेको आवाजले निन्द्रा पर्न सकेन । बिहान ४ बजेतिर उठेर आँफुसँग उपलब्ध चोखा कपडा लगाएर एकएक कप कालो चिया पियौँ।
५ बाजेको हुँदो हो, हामी पाथीभरा माताको मन्दिरतर्फ उक्लन थाल्यौं । झन्डै ४५ मिनेट उकालो चढेपछी सानी पाथीभरा माताको मन्दिरमा पुगियो । उकालो उक्लन नसक्नेहरुका निम्ति सानी पाथीभराको दर्शन गर्दापनी मनोकांक्षा पूरा हुने बिश्वास रहेछ।उक्त मन्दिरमा धुप बालेर दर्शन गरेपस्चात पाथीभरातर्फ अगाडि बढ्यौं । बाटोमा निकै अनौठा अनौठा दृश्य देख्न पाइयो।पाथीभरा माताकाप्रती मानिसहरूको श्रद्धा निकै उच्च रहेछ। झन्डै ५ कि.मि को उकालो बाटो उक्लन नसक्नेहरुका निम्ति स्थानीय युवाहरूद्वारा मान्छेको तौल अनुरुपको भाडादर राखेर मन्दिरसम्म बोकेर लैजाने र फिर्ता ल्याइदिने ब्यबस्था रहेछ।उकालो यात्रामा केहि साथीहरू पछाडि छुट्नुभयो केहि साथीहरू हामीलाई उछिनेर अगाडि बढ्नुभयो।म, कुशल लामिछाने सर र बिजय सापकोटा सर मन्द गतिमा रमाइला गफ गर्दै अगाडि बढिरह्यौँ।
उकालो उक्लिरहँदा मेरो मनमा पाथीभरा यात्राका बारेमा निकै कुरा खेलीरहे। छोटो र अनुपम यात्राका लागि पाथीभरा धाम पनि उपयुक्त गन्तव्य हुनसक्छ जस्तो लाग्यो।नेपालको पहिलो घामको झुल्को पर्ने , कञ्चनजंघा र धार्मिक आस्थाकी धरोहर पाथीभरा देवी साक्षत शक्तिपीठ रहेको सुदूर पूर्वी पहाडी जिल्ला ताप्लेजुङ ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण बन्न सक्ने धेरै आधार रहेछन् । पाथीभरामा वर्षायाम सकिएपछि आन्तरिक र बाह्य पर्यटकको घुँइचो लाग्ने रहेछ।आफ्नो मनोकांक्षा हुने अभिप्रायले पाथीभरा मन्दिरमा पूजाआजा गर्न राजधानी काठमाडौँ, विराटनगर, पोखरा, भारतको आसाम, दार्जीलिङ र तेस्रो देशका पर्यटकहरु यहाँ आउने गरेको स्थानीय होटेल संचालक मार्फत बुझ्न पाइयो। पदयात्रामा प्राकृतिक सौन्दर्य दुर्लभ जीवजन्तु तथा वनस्पतीको बेजोड संगमस्थल पाइयो।
करिब ३ घण्टाको लगातार उकालो चढेपछी ८ बजे पाथीभरा मन्दिरको गेटमा पुगियो । मंगलबार पाथीभरा माताको मन्दिरमा दर्शनार्थीको निकै घुँइचो हुनेरहेछ । धेरै उचाईमा रहेकाले यहाँबाट विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा हिमश्रृङ्खला, कुम्भकर्ण, मकालु, काङ्वाचेन, लोत्से हिमालको दृश्यावलोकन गर्न सकिने रहेछ। हामी पुगेको केही समयमै बादलुले ती सुन्दर हिमालयका दृश्य आफ्नो घुम्टो भित्र लुकाइन…।
करिब ३ घण्टाको लाइन बस्ने क्रममा मैले स्थानीयहरुसँग स्थानीय विशेषताको बारेमा जानकारी लिने कोशिश गरेँ। स्थानीयका अनुसार राष्ट्रिय पंक्षी डाँफे, नेपालमा मात्र पाइने काँडे भ्याकुर लगायत २ सयभन्दा बढी प्रजातिका चरा, १ सय ५२ प्रजातिका फूल, २८ प्रजातिका लालीगुराँस, दुर्लभ रेडपाण्डा, चितुवा, हिमाली कालो भालुलगायत तीन दर्जनभन्दा बढी जङ्गली जनावर सो क्षेत्रमा  पाइने जानकारी दिए । यो क्षेत्रमा पाँचऔंले, कुड्की, जटामसी, चिराइतो जस्ता ५० भन्दा बढी प्रजातिका बहुमुल्य जडिबुटी पाइन्छ रे।
यस धाम वरपरका मानिसहरू पाथीभरा देवीलाई साक्षत देवीका रुपमा मान्दा रहेछन। यसको अवस्थिति अन्न भरेको पाथी जस्तै आकृतिको भएकाले नै पाथीभरा भनिएको रहेछ।देवीको उत्पतिसम्बन्धी किम्बदन्ती अनुसार भेडी गोठालाले गोठ पाथीभरामा सारेका बेला उनको सबै भेडाहरु हराएपछि उनी चिन्तित भएका थिए रे।राति देवीले आत्मबोध गराउँदै भेडा बलीसहित पूजाअर्चना गर्न निर्देशन दिएपछि उनले सोही अनुसार वलीसहित पूजा गरेपछि हराएका सबै भेडा फेलापरेका थिए रे। त्यसपछि देवीलाई साक्षत देवीको रुपमा पूजा अर्चना गर्ने प्रचलन रहिआएको धार्मिक मान्यता रहेछ।
दर्शनका लागी झन्डै ३ घण्टाको पालो कुरेपछी हाम्रो पालो आयो(पालो समयमा नै आउनुमा लाइनलाइ ब्यबस्थित गर्न लागि पर्नुभएका मेरा परम मित्र प्रकाश भण्डारी सरको स्वंसेवा निकै सर्हानिय छ)। पुजाआजा सकेर १ बजेतिर हामी अघिल्लो रात बसेको गेस्ट हाउस फर्कियौँ। हामी त्यहाँ पुग्दा ३ बजेको थियोे । हतार हतार खाना खाएर हामी सुकेटार फर्कियौँ। सुकेटार फर्किएपछि दिनभरको थकान नै भुलाउने आपत आइलाग्यो। त्यहाँबाट फुङलिङ जानको लागि ब्यबस्था गरिएको जिपको ज्यादती बर्णन गर्न लायक रहेछ। दिन बाँकी छँदा स्थानीय जिपको व्यावसायिले पालो लगाएको नाटक गर्ने र सँझ परेपछि मनलाग्दी भाडा अशुलेर रिजार्भ भन्ने रहेछन। अझ बल्लतल्ल पाएको जिपको चलाक! एउटा हातले मोबाइल समाएर कानमा लगाएर बोल्दै चलाउने गाडीको गति देख्दा स्वासप्रस्वास नै अबरोध भएको भान हुने रहेछ।यति ठुलो धाम यति धेरै तिर्थालु भक्तजनको आस्थाको स्थलमा भएको यो कार्य निकै निकृष्ट लाग्यो।
पाथीभरा ३ हजार ७ सय ९४ मिटर उचाईमा रहेकाले तापमान प्रायः शुन्य डिग्रीमा हुने रहेछ। टाउको दुख्ने तथा केही असहज हुने भए पनि खासै चिन्ता लिनु नपर्ने रहेछ। दर्शनार्थीहरुले लेक लाग्नबाट जोगिन घरेलु उपचारका सामग्रीहरु तातोपानी, भुटेका मकै, अदुवा, लसुन गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरु बोक्दा सजिलै पुग्न सकिदो रहेछ।
बिहान ७ बजे फुङ्लिङ्बाट इलामको कन्यामतर्फ अगाडि बढियो। २ दिन अगाडि हिँडेको बाटो र थकित ज्यान लिएर फर्किएको हुँदा हामिमा खासै उर्जा थिएन। काबेली नदिमा आएर केहि समय विश्रामसँगै फोटोहरु खिचियो। काबेलीबाट केहि समय यात्रा गरेर राँके भञ्ज्याङ् आएर बिहानको खाना खाइयो। साथीहरूमा थकानले कुनै उर्जा देखिएको थिएन । सबैजसो साथीहरू आफ्ना फोटाहरु आदनप्रदानमा ब्यस्त हुनुन्थ्यो। झन्डै ४ बजेको हुँदो हो उर्जाको प्रायः भन्दा अत्यास्युक्ती नहुने आदरणीय लेखमाया पुन मिस र आदरणीय अति मिलनसार मनमाया गुरुङ मिस मिलेर साथीहरूको आलस्य मनलाइ पालैपालो नचाएर तङ्ग्रयाउन लाग्नुभयो। सबैजना साथीहरू नाच्न थाल्यौं । नाच्दै गर्दा आदरणीय अर्जुन कार्की सर र हँसिली मिजासिली आदरणीय शशी गुरुङ मिसको पालो आइपुग्यो।
हाम्रो यात्राको निकै यादगार यो नृत्यको जतिसुकै बर्णन गरेपनी अपुरो नै हुन्छ होला।उक्त नृत्यपछी कालिका मा.बिमा आएपस्चात सबभन्दा धेरै गफगाफ भएका मेरा अति प्रिय पात्र अर्जुन कार्किलाई अघिल्लो एकबर्षमा २% पनि नचिनेको भान भयो। उहाँहरुको नृत्यलाई हेरेर हुटिङ्ग गर्दा पाथीभरा उक्लिएको सबै थाकान भुलियो। नृत्यले मन्त्रमुग्दभएर आदरणीय कुशल लामिछाने सरले फुल लगाउन शुरुआत गरेपछि माहोल एकाएक गर्मियो। हाम्रो टोलीका सम्पुर्ण साथीहरूले आ-आफ्नो इच्छा अनुसार उहाँहरूलाई फुल लगाइदिनुभयो। यात्रामा भएका सम्पुर्ण थकानलाइ लजमा आएर थप  नृत्य गरेर मेटाइयो। भोलिपल्ट बिहानै उठेर कन्यामको चिया बगानमा झरेर घुमियो। जतिसुकै वर्णन गरेपनि नसकिने इलाम जिल्लाको बारेमा अघिल्लो बर्ष नै लेखेको हुँदा यहाँ उल्लेख गरिन।
कन्यामबाट झापा झरेर बिहानको खाना खाएपछि चर्चाको शिखरमा रहेको उपमहानगरपालिका धरानतर्फ लागियो। धरानमा अवस्थित बुढासुब्बा मन्दिर र दन्तकाली निकै प्रख्यात स्थलहरु हुन।(बुढासुब्बाको बारेमा अघिल्लो बर्षको लेखमा उल्लेख गरेको हुँदा यहाँ उल्लेख गरेको छैन।)दन्तकाली मन्दिर धरान नगरपालीका वडा नं. १४ विजयपुर डाँडाको मध्य भागमा अवस्थित रहेछ । मध्यकालतिर कालिकाका नामले चिनिने यो मन्दिर भगवान शिवले सतीदेवीको मृतशरीर बोकेर हिड्दा सतीदेवीको दन्त पतन भई शक्तिपीठको रूपमा स्थापित भएको भन्ने मान्यता रहेछ । उक्त मन्दिरमा सतिदेवीका दाँतको प्रतिक स्वरूप एउटा कालो पथ्थर राखी पूजाआजा गर्ने गरिएको रहेछ।  दन्तकाली क्षेत्रमा दशैंको नौरथामा मेला लाग्दो  रहेछ। त्यस समयमा धरान बजारका प्राय सबै मानिसहरू दन्तकालीमा पुग्ने रहेछन् । यसबाहेक तीज र स्वस्थानी पूर्णिमाका अवसरमा पनि दन्तकालीमा मेला लाग्ने रहेछ ।स्वस्थानी ब्रत कथामा पनि उल्लेख भएको मन्दीरको साक्षात दर्शन गर्न पाउँदा मन निकै पुलिकित हुनपुग्यो।दन्तकालीको दर्शन गरेलगत्तै हामी बिश्वकै प्रथम तिर्थस्थल बराहक्षेत्रतर्फ लाग्यौं ।
धेरै बर्ष पहिले हजुरबुबासँगको भलाकुसारीमा हिन्दू पौराणिक कथाका चार क्षेत्रमध्ये २ भारतमा कुरुक्षेत्र र धर्मछेत्र , यस्तै २ नेपालमा: मुक्तिनाथ र बराहक्षेत्र रहेको सुनेको थिएँ। धर्म संस्कृतिका ज्ञानी आदरणीय भवानी संकर सुवेदी गुरुले हामी साथीहरूलाई बराहक्षेत्रको बारेमा जानकारी दिनुभयो ।बिष्णुको वराह अवतारको पूजाआज हुने बराहक्षेत्र सुनसरी जिल्लाको मात्र नभएर नेपालकै सर्वाधिक महत्त्वपूर्ण र प्रख्यात तीर्थ रहेछ। उहाँको अनुसार बराहक्षेत्र नगरपालिका वडा नं.–१ मा अवस्थित  कोका र कोशी नदी संगममा पर्ने यो स्थान  बराहक्षेत्र  ब्रह्मपुराण वराहपुराण र स्कन्दपुराण लगायतका पुराणहरू र महाभारत महाकाव्यमा समेत उल्लेखित गरिएको तथा महिमा गाइएको  सबैभन्दा पुरानो मध्येको एक देवस्थल मानिने रहेछ। उक्त देवभुमी अवलोकन पश्चात्  वराहक्षेत्रमा लक्ष्मी, पाञ्चायन, गुरुवराह, सूर्यवराह, कोकावराह र नागेश्वर लगायतका ९ वटा मन्दिर र थुप्रै धर्मशाला रहेको थाहा पाइयो। त्यहाँ आजभन्दा करिब १५०० वर्ष अगाडि देखिका मूर्तिहरू भएको सुन्न पाइयो।
स्थानीय पुजासामग्री ब्यबसायीका अनुसार बराहक्षेत्रमा सालैभर मानिसहरूको आवतजावत र जमघट हुनेरहेछ । कार्तिक पूर्णिमा र मकर संक्रान्तिमा बिशेष किसिमका ठुला मेला लाग्ने रहेछन । कार्तिक पूर्णिमाका अवसरमा विशेषगरी भारत तिरबाट र मकर संक्रान्तिका अवसरमा नेपालको पहाडी भागबाट मेला भने ज्यादा जसो मानिसहरू बराहक्षेत्रमा आउने गर्दछन् रे। यसबाहेक ऋषि पूर्णिमा, ब्यास पूर्णिमा, फागुपूर्णिमा लगायत विभिन्न एकादशी तथा अन्य व्रत र उत्सवका दिनहरूमा पनि तीर्थयात्रीहरू प्रसस्त मात्रामा बराहक्षेत्र पूग्ने रहेछन।
बराहक्षेत्रमा हामीले नुहाएर मन्दिर प्रवेश गर्दा भर्खरै साँझको आरति सुरु भएको रहेछ।हामी साथीहरू वराहक्षेत्रको मुख्य मन्दिरको सम्मुखमा बसेर लाखबत्ति ताप्दै भजनकिर्तन गर्न थाल्यौं ।झन्डै १ घण्टाको भजनकिर्तनमा अन्य भक्तजनहरुले पनि हामीलाई साथ दिनुभयो । बराहक्षेत्र पूर्वी नेपालको सबै भन्दा महत्त्वपूर्ण पर्यटकीय स्थल हो भन्दा फरक नपर्ला। धार्मिक पर्यटनका दृष्टिले यसको ख्याति टाढा टाढा सम्म फैलिएको छ। पूर्वी नेपालमा वराहक्षेत्रलाई केन्द्र बिन्दु बनाएर धार्मिक पर्यटनको विकास गर्न सकिन्छ। वराहक्षेत्रलाई छेउको कोशी नदी जलक्रिडा र नौकाशयर गर्न चाहने मानिसहरूका लागि निकै महत्त्वपूर्ण छ।
अन्त्यमा, बिदाको सदुपयोग गर्दै नयाँ ठाउँको अवलोकन गर्न निस्किएको ७ दिनमा दोलखाको कालिन्चोक र भिमेश्वर, खोटाङको हलेसी, ताप्लेजुङको पाथीभरा, इलामको कन्याम, धरानको बुढासुब्बा र दन्तकाली हुँदै सुनसरीको बराहक्षेत्रको दर्शन र अवलोकन गरेर टुङ्गियो । यस भ्रमणको क्रममा साथ दिने बसका साहुजी सुर्य शाही, चालक नवीन परियार, सहचालक अर्जुन कार्की लगायत हाम्रो भ्रमण टोलिमा रहनुभएका सम्पूर्ण आदरणीय जनहरुलाइ हार्दिक धन्यवाद ज्ञापन गर्दछु । सम्पुर्ण प्राणी जगतको बराह अवतार र  पाथीभरा माताले रक्षा गरुन् । आफ्नो जीवनकालमा सम्पुर्ण श्रद्धालुजनलाइ बराहक्षेत्र र पाथीभराको दर्शन गर्ने सुभअवसर मिलोस् भन्ने कामना सहित सबैलाई सुभकामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist