पोखरा, पौष ।
सञ्जय आचार्य
पोखरा महानगरपालिका वडा नम्बर ३३ अन्तर्गत पुँडीखोला क्षेत्रमा प्रस्तावित ल्याण्डफिल साइट तथा फोहोर प्रशोधन केन्द्र निर्माणप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आपत्ति जनाएको छ। रास्वपा पोखरा–३३ वडा समितिले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा स्थानीय बासिन्दाको सहमतिविना अगाडि बढाइएको परियोजनाले जनस्वास्थ्य, वातावरण तथा पर्यावरणमा गम्भीर असर पार्ने जनाएको छ। विकासको नाममा जनताको स्वास्थ्यसँग खेलवाड गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने पार्टीको धारणा छ।

विज्ञप्तिमा स्थानीय जनताको सुझाव, सल्लाह र सहभागिता बेगर एकपक्षीय रूपमा निर्णय लादिएको आरोप लगाउँदै यस्तो निर्णय तुरुन्त रोक्न माग गरिएको छ। साथै, वडा नम्बर ३३ का बासिन्दासँग संवाद, छलफल र सहकार्यका आधारमा दीर्घकालीन समाधान खोज्न महानगरपालिकासँग आग्रह गरिएको छ।
रास्वपाले मिति २०८२ भदौ २७ गते स्थानीयले उठाएका जायज मागप्रति बेवास्ता गरी जबर्जस्ती निर्णय लागू गरिएमा वडा समिति र स्थानीय जनताको साथमा चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ।
समाचारको अन्त्यमा पार्टीले सम्बन्धित निकायलाई गम्भीर बन्न, दोषीमाथि कारबाही गर्न तथा समस्या समाधानका लागि तत्काल सहमतिमा पुग्न आह्वान गरेको छ।













