काठमाण्डौ १, बैशाख ।
गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि चीनका राजदूत चाड माओमिङबीच गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा राजदूत माओमिङले गृहमन्त्री गुरुङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। भेटवार्तामा दुवै देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ गर्दै सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ। दुवै पक्षले आपसी सम्बन्ध विस्तार र विकास सहकार्यलाई निरन्तरता दिने सहमति व्यक्त गरेका छन्। गृहमन्त्री गुरुङले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको दोहोर्याउँदै नेपालको भूमिमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने स्पष्ट प्रतिबद्धता जनाएका छन्। उनले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा सरकारको प्रमुख प्राथमिकता रहेको पनि उल्लेख गरेका छन्।
भेटका क्रममा उनले नेपालमा भिसा अवधि सकिएर अवैध रूपमा बसिरहेका चिनियाँ नागरिकलाई स्वदेश फिर्ता गर्ने प्रक्रियालाई प्रभावकारी बनाउन आवश्यक समन्वय र सहजीकरण गर्न चीनियाँ पक्षसँग आग्रह गरेका छन्। यसैगरी, चीनको सहयोगमा सञ्चालित विकास आयोजना समयमै सम्पन्न गर्न, नेपाल–चीन रेलमार्ग निर्माणलाई अघि बढाउन तथा द्विपक्षीय व्यापार सहजीकरणमा थप पहल गर्न गृहमन्त्रीले जोड दिएका छन्। दुवै पक्षबीच नेपाल–चीन सीमाक्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको छ। चिनियाँ पक्षले नेपालको सुरक्षा निकायको क्षमता अभिवृद्धिमा सहयोग गर्न तयार रहेको जनाएको छ।














