विद्यालय प्राङ्गणका ६ स्थानमा फरक–फरक समूहका कुर्सी र मेचहरू चिरिच्याँट्ट सजाइएका छन् । मेचको अघिल्तिर पुस्तकका महत्त्वपूर्ण विशेषताका झलकहरू शोभायमान छन् । विद्यालयको वातावरण शान्त छ । एकैछिनमा सेतो वस्त्रले ढाकिएका सबै समूहका मेचअगाडिका कुर्सीहरूमा फरक–फरक विधाका मानवरूपी पुस्तकहरू आएर विराजमान भए । अघिल्तिरका कुर्सीमा आफूलाई मनपर्ने पुस्तकको रसपान गर्न आतुर पाठकहरू व्यवस्थित तरिकाले बसे ।
पुस्तकका पानाहरू क्रमशः पल्टिँदै गए । ती पानामा सजिएका जीवनोपयोगी सन्देशहरू विद्यार्थीका उर्वर मस्तिष्कमा भण्डारण हुँदै गए । झट्ट सुन्दा कुनै चलचित्रको पर्दामा देखिने कथाको अंशजस्तो लाग्ने यो दृश्य कुनै काल्पनिक दृश्य भने होइन । पोखराको एउटा विद्यालयमा देखिएको मानव पुस्तकालयको जीवन्त उपयोगिताको दृश्य हो यो । जहाँ मानिसहरू नै सिङ्गो पुस्तकको अवतारका रूपमा उपस्थित थिए भने त्यसका पाठकका रूपमा ज्ञानपिपासु विद्यार्थीहरू केही प्राप्तिको व्यग्र आशामा प्रतीक्षारत देखिन्थे त्यहाँ ।
पोखराको रामबजारस्थित एसओएस हरमन माइनर स्कुल गण्डकीमा देखिएको दृश्य हो यो । विद्यालयले ‘मानव पुस्तकालय’ को अवधारणामा आधारित अन्तक्र्रियात्मक कार्यक्रम सम्पन्न ग¥यो । विद्यालयमा गठित एसओएस पाठक मञ्च र जुनियर रेडक्रस सर्कलको संयुक्त तत्त्वावधानमा आयोजित उक्त समारोहको समुद्घाटन एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य र विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले संयुक्त रूपमा गरे ।
विद्यालयद्वारा सञ्चालित पहिलो चरणको कार्यक्रमअन्तर्गत ६ जना अतिथिहरूको सहभागिता रहेको थियो । लेखक दिनकर नेपाल, रङ्गमञ्चकर्मी परिवर्तन, कवि तारानाथ पराजुली, चरा विशेषज्ञ हेमन्त ढकाल, साहित्यकार दीपक पराजुली र इन्जिनियरिङ क्षेत्रका विद्यार्थी रोशन तिमिल्सिनाले प्रथम चरणको कार्यक्रमको आतिथ्य ग्रहण गरेका थिए । उनीहरूले विद्यार्थीहरूले सोधेका प्रश्नहरूको उत्तरमा आधारित रही आफ्ना जीवनभोगाइलाई खुला पुस्तकका पानाझैँ पल्टाउँदै गए । अतिथिहरू कुनै एक विधाको खुला पुस्तक बने भने विद्यार्थीहरू त्यसका पाठक भएर शिक्षा हासिल गरे । खुला पुस्तकका रूपमा उपस्थित अतिथिहरूले आफ्नो बाल्यकाल, शिक्षादीक्षा, रुचि, जीवनको लक्ष्य, लक्ष्यप्राप्तिका लागि गरिएको सङ्घर्ष, वर्तमान समयमा अवलम्बन गरिरहेको पेसा, व्यवसाय र सफलताका कथाबारे प्रेरणादायी उद्गारहरू अभिव्यक्त गरेका थिए ।
मानवरूपी पुस्तक र पाठकका बीचमा झन्डै एक घण्टा चलेको अन्तरक्र्रियापछि कार्यक्रम औपचारिकतामा रूपान्तरित भयो । एकैछिनअघि पाठकको भूमिकामा रहेका विद्यार्थीद्वय स्नेहा पौडेल र रिश्मा पाण्डेले कार्यक्रमलाई औपचारिकता प्रदान गरे । औपचारिक समारोहको अध्यक्षता एसओएस पाठक मञ्चकी अध्यक्ष अनुष्का बस्नेतले गरिन् । कार्यक्रममा स्वागत मन्तव्य राख्दै क्लबका शिक्षक संयोजक वीरसिंह बूढाले पुस्तकालयमा उपलब्ध हुने पुस्तकका पानामात्रै पल्टाएर भन्दा पनि ज्ञान र अनुभवले भरिएका व्यक्तित्वहरूका पुस्तकका पाना पल्टाएर विद्यार्थीहरूलाई लाभान्वित गराउन कार्यक्रमको आयोजना गरिएको बताए ।
एसओएसको ‘मानव पुस्तकालय’ कार्यक्रम पुस्तक र पाठकको प्रत्यक्ष कुराकानी भएकाले अस्पष्ट लागेका कुराहरूमा तत्क्षण प्रश्न राखी आफ्नो जिज्ञासा मेटाउन पनि विद्यार्थीहरू सफल भए । पुस्तकका रूपमा उपस्थित भएका अतिथिहरूले पुस्तक बनेर पाठकका जिज्ञासा मेटाउन पाउँदा आफूहरूलाई आनन्द लागेको रोचक अनुभूति सुनाए । पुस्तकालयको पुस्तक निकालेर पढ्दा आफूलाई चित्त नबुझेको वा अस्पष्ट भएको कुरामा तुरुन्त प्रश्न गर्ने अवसर नपाइने तर मानव पुस्तकालयमा त्यो सुविधा रहने भएकाले यो अवधारणा आफूलाई निकै रमाइलो र प्रभावकारी लागेको अनुभव सुनाइन् कार्यक्रममा सहभागी कक्षा ११ की सहनशीला पौडेलले ।
मानव पुस्तकालयसम्बन्धी अवधारणा पहिलोचोटि डेनमार्कको कोपनहेगनबाट प्रारम्भ भएको हो । सन् २००० बाट औपचारिक रूपमा सुरुवात गरिएको यो अवधारणा हाल विश्वका झन्डै ९० ओटा राष्ट्रमा सञ्चालनमा ल्याइएको छ । विश्वका केही देशमा यो अवधारणाअनुसारका कार्यक्रमहरू सञ्चालन भए पनि नेपालमा मानव पुस्तकालयको अवधारणा अघि सारी यस कार्यक्रमको विधिवत् प्रयोग र परीक्षण गर्ने पहिलो विद्यालय नै एसओएस गण्डकी भएको संस्थाका प्रधानाध्यापक चूडामणि सुवेदीले बताए ।
रचनात्मक क्षेत्रमा केही गरूँ भन्ने विद्यालयका नवप्रवर्तनकारी सोच भएका विद्यार्थीहरूले ल्याएको प्रस्तावलाई प्रोत्साहन गर्न यस किसिमको कार्यक्रम आयोजना गरिएको हो ।’ प्रधानाध्यापक सुवेदीले भने, ‘हाम्रा विद्यार्थीको नवप्रवर्तनकारी सोचलाई सार्थक बनाउन पुस्तकका रूपमा उपस्थित सबै अतिथिहरूलाई धन्यवाद छ ।’ मानवजीवनका अनुभव र अनुभूतिलाई पुस्तक मानेर अन्तक्र्रियाका माध्यमबाट विभिन्न विषयक्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको जीवनभोगाइबाट शिक्षा र सन्देश ग्रहण गर्नु यस अवधारणाको प्रमुख विशेषता हो ।
एसओएस पाठक मञ्चकी अध्यक्ष अनुष्का बस्नेतले विद्यार्थीको नवप्रवर्तनकारी सोचलाई प्रोत्साहन गरेकामा विद्यालयप्रति आभार व्यक्त गरिन् । पहिलो चरणको अभ्यासबाट विद्यार्थीहरू निकै लाभान्वित भएको बताउँदै उनले आगामी शृङ्खलाको कार्यक्रमलाई थप व्यवस्थित र भव्य बनाउने आफूहरूको योजना रहेको उनको भनाइ थियो ।
फरक स्वादको कार्यक्रमबाट विद्यार्थीहरूलाई लाभान्वित गराउने उद्देश्यबाट प्रेरित भएर विद्यालयमा मानव पुस्तकालयको अवधारणाअनुसार कार्यक्रम आयोजना गरिएको एसओएस बालग्रामका परियोजना निर्देशक प्रदीपभक्त आचार्यले बताए । विद्यार्थीहरूका सिर्जनात्मक गतिविधिलाई विद्यालयले जहिले पनि उच्च महत्त्व दिँदै आइरहेको र मानव पुस्तकालय पनि त्यसैको एक कडी भएको निर्देशक आचार्यको भनाइ थियो ।

