पोखरा, वैशाख ।
पोखरा महानगरपालिका वडा नं. १५ अन्तर्गत पर्ने सुनगाभा–जल्पा टोल विकास संस्थाको साधारण सभा तथा प्रथम अधिवेशन शनिबार भव्य तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। टोलबासीहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न उक्त अधिवेशनले आगामी कार्यकालका लागि ईश्वरबहादुर खवासको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। अधिवेशनमा टोलवासीहरूको सक्रिय उपस्थिति, आपसी एकता तथा सामुदायिक भावना स्पष्ट रूपमा झल्किएको थियो। टोलको समग्र विकास, सामाजिक सद्भाव, सरसफाइ व्यवस्थापन, पूर्वाधार सुधार तथा जनसहभागितामूलक कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै नयाँ नेतृत्व चयन गरिएको हो।
अधिवेशनले ईश्वरबहादुर खवासको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध रूपमा चयन गरेको छ। उपाध्यक्ष चीजा गुरुङ, सचिव सरिता कोइराला, कोषाध्यक्ष सुवेदार मेजर दूत प्रसाद गुरुङ र अन्य सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन भएका छन्, जसले टोलको दिगो विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रमुख अतिथि तोरण बहादुर बानियाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न वक्ताहरूले टोल विकास संस्थाहरू स्थानीय तहमा विकास र सुशासनका महत्वपूर्ण आधार भएको धारणा व्यक्त गरेका थिए। यसै क्रममा प्रमुख अतिथि बानियाले आफ्नो मन्तव्य राख्दै समाज विविधताले भरिएको हुने भएकाले सबै भाषा, धर्म, जाति र संस्कृतिलाई समान रूपमा सम्मान र स्वीकार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विविधताभित्रको एकताले नै समाजको वास्तविक सुन्दरता झल्काउने उल्लेख गर्दै आपसी सद्भाव, सहिष्णुता र सहकार्यको भावनालाई अझ सुदृढ बनाउँदै लैजान सबैलाई आग्रह गर्नुभयो।
कार्यक्रमका क्रममा सचिव सरिता कोइरालाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विगत अवधिमा भएका गतिविधि, उपलब्धि तथा चुनौतीहरूको विस्तृत जानकारी गराउनुभएको थियो। त्यसैगरी, कोषाध्यक्ष सुवेदार मेजर दूत प्रसाद गुरुङले आर्थिक वर्ष २०८१ २०८२ को आय–व्यय विवरण प्रस्तुत गर्दै संस्थाको आर्थिक पारदर्शिता र उत्तरदायित्वप्रति प्रतिबद्धता जनाउनुभयो। उक्त अवसरमा टोलका १११ घरधुरीको प्रतिनिधित्व रहेको जानकारी दिँदै सामुदायिक सहभागितालाई अझ प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको थियो।
कार्यक्रममा वडा नं. १५ द्वारा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो। पुरुष ५ किलोमिटर दौडमा प्रथम स्थान हासिल गर्ने सुवेदार होनरी क्याप्टेन याम बहादुर राना, महिला भलिबलमा द्वितीय स्थान हासिल गर्ने टोली तथा महिला दौडमा द्वितीय स्थान हासिल गर्ने जूना राना र लाली खाँणलाई सम्मान गरिएको हो। उनीहरूको खेलकुद क्षेत्रमा गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
त्यसैगरी, गणेश कुमार श्रेष्ठ, लालबहादुर थापा, जगतराज चन्द, कमलबहादुर बानिया, भक्तबहादुर खत्री, सरोज जमलकटेल र चित्रबहादुर भण्डारी लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गरेका थिए। वक्ताहरूले नयाँ नेतृत्वले टोलको समग्र विकास, सुशासन र सामाजिक एकतालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।

नवनिर्वाचित अध्यक्ष ईश्वरबहादुर खवासले टोलवासीहरूको विश्वासप्रति आभार व्यक्त गर्दै टोलको समग्र विकास, पूर्वाधार विस्तार, सरसफाइ, सुरक्षा तथा सामाजिक एकतालाई सुदृढ बनाउने दिशामा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले सबै टोलवासीलाई समेटेर सहकार्य, पारदर्शिता र उत्तरदायित्वका आधारमा अघि बढ्ने बताउनुभयो। अधिवेशनले सामुदायिक एकता, पारदर्शिता र दिगो विकासलाई केन्द्रमा राख्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने स्पष्ट सन्देश दिएको छ। यसले टोल विकास संस्थालाई स्थानीय स्तरमा विकास र सहकार्यको उदाहरणीय संस्था बनाउने अपेक्षा गरिएको छ।














