नवलपुर जिल्लामा दश वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले एक जनालाई ११ वर्ष कैद सजायको फैसला गरेको छ ।
नवलपरासी पूर्व मध्यविन्दु नगरपालिका –९ का मोहन पुनलाई दश वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै ११ वर्ष कैद सजायको फैसला सुनाएको हो ।
न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले बलात्कार कसुर ठहर गर्दै पुनलाई ११ वर्ष कैद र पीडितलाई एक लाख ५० हजार रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको जिल्ला अदालतका नायव सुब्बा सन्तोष सिग्देलले जानकारी दिए ।
पीडित बालिकालाई पुनले ०७७ भदौ १८ गते बलात्कार गरेको भन्दै ०७७ असोज २९ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा उजुरी दर्ता भएको थियो । उजुरी गरेपछि ०७७ कात्तिक ३ गते गिरफ्तार भएका पुनलाई नवलपुर जिल्ला अदालतले कात्तिक २६ गते पुर्पक्षको लागि थुनामा पठाएको थियो । बालिकाको स्वास्थ्य परीक्षण ०७७ असोज २९ गते जिल्ला अस्पताल नवलपुरमा भएको थियो ।