नयाँदिल्ली एउटा यस्तो ‘हाटबजार’ छ, जहाँ केवल पुस्तक पाइन्छ । दिल्लीको दरियागन्जमा हरेक आइतबार पुस्तकको हाटबजार लाग्छ । पुस्तकप्रेमीहरूका तीर्थस्थल नै बन्न पुगेको छ उक्त स्थान ।
बजारभरि पाल र भुइँमा पुस्तकका पसल खोलिन्छन् । स्कुल, कलेजका विद्यार्थीदेखि प्राध्यापक, पुस्तकप्रेमी सर्वसाधारणदेखि सरकारी जागिरको परीक्षाका तयारीमा बसेका युवाहरूको आउजाउ उक्त बजारमा देखिन्छ । नर्सरीदेखि पीएचडीसम्मका विद्यार्थीलाई काम लाग्ने पुस्तकहरू उक्त बजारमा भेटिन्छ । त्यसबाहेक अंग्रेजी र हिन्दी साहित्य, इतिहास, भूगोल, कानुन, संविधानका किताबहरू बजारमा जताततै देखिन्छन् ।
दिल्ली आउनेका लागि दरियागन्जको साप्ताहिक पुस्तक बजार घुम्नुपर्ने ठाउँका रूपमा प्रचारित छ । अझ पुस्तकप्रेमीहरू त आइतबार पारेरैसमेत दिल्ली आउँछन् । यो बजार लाग्न थालेको ६० वर्ष भइसकेको छ । त्यति नै उमेरका असर्फीलाल बर्मा उक्त बजारमा किताब बेच्न थालेको दशकौं बितेको छ । पुस्तक व्यापारीहरूको पुस्तानान्तरण हुँदै आएको छ । एउटै परिवारका बाजे, बाबु र छोरापछि नाति यस व्यवसायमा लागेका भेटिन्छन् ।
दरियागन्ज पटरी सन्डे बुक बजार वेलफेयर एसोसिएसनका उपाध्यक्ष रहेका उनले ‘बुक्स फर अल’ अर्थात् पुस्तक सबैका लागि भन्ने यो बजारको उद्देश्य भएको बताए । उनी २५ वर्षदेखि पुस्तक व्यवसायमा छन् । उनका छोरा प्रवीणले पनि यही बजारमा पुस्तक पसल थाप्न थालेको केही वर्ष हुँदै छ । हरेक तह तप्काका मानिस आउन र उनीहरूले सस्तो मूल्यमा आफूलाई चाहिने किताब लिन सकुन् भन्ने यसको उद्देश्य रहेको सुनाए । उनले भनेजस्तै बजार सस्तो पनि छ । बाहिर ५ सय÷हजारमा पाइने किताबहरू यहाँ एक सय÷दुई सयभित्रै पाइने गरेको छ । भारु २० देखि ३ सयभित्रको दाममा किताबहरू प्रशस्तै भेटिन्छन् । कतिपय किताबहरू किलोको भाउमा जोखेर पनि पाइन्छ ।
इतिहास र पुरातत्त्वका धेरै पुराना किताबहरू जुन ठूला पुस्तक पसलहरूबाट हराइसकेका छन्, त्यस्ता पनि यहाँ पाइने भएपछि पुस्तकप्रेमीहरूका लागि आकर्षकको केन्द्र बन्न पुगेको छ । इन्जिनियरिङ र मेडिकलका महँगा पुस्तकहरू पनि यहाँ सस्तो मूल्यमा पाइने भएपछि विद्यार्थीहरू आकर्षित छन् । इन्जिनियरङका छात्र मोहमद समीर इबरार आफूलाई पुस्तक वा कपीको आवश्यकता पर्दा ‘सन्डे मार्केट’ को प्रतीक्षा रहने गरेको बताउँछन् ।
