परीक्षा दिएको डेढ वर्षमा नतिजा सार्वजनिक हुने त्रिभुवन विश्वविद्यालयमा कक्षा सकिएको महिनौंपछि मात्र परीक्षा सञ्चालन हुने गरेको विद्यार्थीहरुको गुनासो रहेको छ । परीक्षाको नतिजा थाहा पाउन १८ महिनासम्म कुर्नुपर्ने विद्यार्थीले परीक्षा दिन पढाइ सकिएको १२ महिनासम्म प्रतीक्षा गर्नुपर्ने अवस्था छ ।
तोकिएको अवधिमा कोर्स पूरा भए पनि परीक्षा आवेदन फाराम नखुल्ने, समयमा रुटिन नआउने समस्याले महिनौंसम्म परीक्षा पछाडि धकेलिने गरेको विद्यार्थीको भनाइ छ । स्नातकमा २०७७ चैतमा भर्ना भएका विद्यार्थीहरु गत मंसिरदेखि कोर्स सकेर दोस्रो वर्षको परीक्षाको तयारीमा छन् । विश्वविद्यालय र क्याम्पसमा सरासर पढाइ र तालिकाअनुसार परीक्षा लिइएको भए विद्यार्थीहरु तेस्रो वर्षमा हुन्थे । तर परीक्षा नियन्त्रण कार्यालयले दोस्रो वर्षको परीक्षा आवेदन फाराम मंगलबार मात्रै खुलाएको छ ।
मानविकी, व्यवस्थापन, शिक्षा, विज्ञान, प्रविधि संकायका हजारौं विद्यार्थी दोस्रो वर्षको परीक्षाको तयारीमा छन् । २०७८ मा भर्ना भएका विद्यार्थी पहिलो वर्षको परीक्षा दिएर दोस्रो वर्षको पठनपाठन गर्दै छन् । तेस्रो वर्षको कक्षामा हुनुपर्ने विद्यार्थी परीक्षा नहुँदा दोस्रो वर्षमै छन् । वैशाखमा कक्षा १२ को परीक्षा सकिएको छ । तर अघिल्लो वर्षको स्नातकको पहिलो वर्षको पढाइ भर्खरै चैतबाट सुरु भएको छ । त्रिविको यही अवस्था कायम रहे आगामी शैक्षिक सत्रमा पनि दुई ब्याचका विद्यार्थी ग्रुप खटिप्ने निश्चित रहेको कलेज सञ्चालक बताउँछन् । त्रिविमा मात्रै होइन, पोखरा, पूर्वाञ्चललगायतका विश्वविद्यालयमा समेत समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन हुन सकेको छैन । स्नातक तह पहिलो वर्षको परीक्षा ३ पटक सरेपछि गत वैशाखमा सञ्चालन गरिएको थियो ।
त्रिवि कार्यकारी परिषद्ले परीक्षा र नतिजा प्रकाशन ढिलाइमा असन्तुष्टि जनाउँदै गत वर्ष भत्ता रोकेको थियो । कर्मचारीले झनै ढिलाइ गरेपछि भत्तालाई निरन्तरता दिइएको छ । सेमेस्टर प्रणालीको परीक्षा डिन कार्यालय र वार्षिक प्रणालीको परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गर्छ । कोभिडपछि परीक्षा र नतिजाको समय तालिका व्यवस्थापन झनै लथालिंग भएको विद्यार्थीको गुनासो छ । विश्वविद्यालयका उपकुलपतिलगायत पदाधिकारीले दुई वर्षदेखि परीक्षा र नतिजा समयभित्रै सञ्चालन गर्न निर्देशन दिए पनि कार्यान्वयन हुन सकेको छैन । हजारौं विद्यार्थी त्यसको मारमा परेका छन् ।