सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि पोखरा महानगरपालिका र प्रधानाध्यापकहरू सँग कार्यसम्पादन करार सम्झौता गरेको छ ।
विद्यालयको प्रशासनिक नेतृत्वलाई जवाफदेही बनाई विद्यालयको सुधार, विकास र उन्नयन गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग २८ बुँदामा सम्झौता गरिएको हो ।
महानगरपालिकाका प्रमुख धनराज आचार्य र सम्बन्धित विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूको रोहबरमा महानगरपालिकाको तर्फबाट शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य र विद्यालयका प्रध्यानाध्यापकले कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर गरे । सम्झौताअनुसार कम्तीमा एक सय ९२ दिन पठनपाठनको सुनिश्चितता र विद्यालयमा शिक्षक पदपूर्ति रिक्त भएको कम्तीमा ३० दिनभित्र गरिसक्नु पर्नेछ ।
विद्यार्थीलाई किताब केन्द्रित सिकाइभन्दा पनि परियोजनात्मक कार्यमा आधारित शिक्षण सिकाइका क्रियाकलाप सञ्चालन, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ र सामाजिक परीक्षण समिति समयमा गठन गर्ने, महानगरले तयार गरेको स्थानीय पाठ्यक्रम केन्द्रीय शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने, समयमा पाठ्यपुस्तक विद्यार्थीलाई उपलब्ध गराउने, आधारभूत शैक्षिक सामग्री उपलब्ध गराउनेलगायत सम्झौतामा उल्लेख गरिएको छ ।
सम्झौतामा उल्लेखित कार्यको चौमासिक समीक्षासहित प्राप्त हुन नसकेका लक्ष्यको हकमा महानगरपालिकाको तर्फबाट कर्यायोजना बनाई सम्झौता कार्यान्वयन, सहजीकरण र अनुगमन संयन्त्रको विकास गरिने महानगरले जनाएको छ । महानगर प्रमुख आचार्यले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारको विकल्प नभएको बताउनुभयो । महानगरले चालु शैक्षिकसत्रदेखि लागू हुने गरी सामुदायिक विद्यालयले सेवा सुविधा वृद्धि गरेको छ ।