पोखरा १, बैशाख ।
पर्यटनको राजधानि पोखरामा नेपाली नयाँ बर्षको अवसरमा निःशुल्क सटल बस सेवा सुरु भएको हो । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर पोखरामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अम्मरसिंह चोकसम्म निःशुल्क इलेक्ट्रिक सटल बस सेवा सुरु भएको छ । पोखरा महानगरपालिका को पहलमा विभिन्न वित्तीय संस्था र यातायात व्यवसायीको सहकार्यमा यो योजना अघि बढाइएको हो। पाइलट परियोजनाका रूपमा असार मसान्तसम्म यो सेवा निःशुल्क प्रयोग गर्न पाइने भएको छ । त्यसपछि भने न्यूनतम शुल्कमा नियमित रूपमा सञ्चालन गर्ने योजना बनाइएको छ। पोखराका मेयर धनराज आचार्य का अनुसार पोखरामा विमानस्थलदेखि लेकसाइड वा शहरका विभिन्न ठाउँमा जाँदा महँगो ट्याक्सी भाडाको गुनासो बढेपछि यसको विकल्पका रूपमा यो सेवा सुरु गरिएको हो। विमानस्थलबाट मुख्य चोक क्षेत्रमा यात्रुलाई ल्याए पछि विभिन्न विकल्पमा आफ्नो गन्तव्यमा पुग्न सकुन भन्ने उद्धेश्यले पहिलो चरणमा २ वटा बसबाट उक्त सेवा संचालन हुने भएको उहाँले जनाउनु भयो ।
सटकल बस अत्याधुनिक सुविधा सहितको ३२ सिटे इलेक्ट्रिक बस, जसमा आरामदायी यात्रा अनुभवका साथै लगेज राख्ने सुविधा पनि पाइनेछ। बिहान ६ बजेदेखि राति १० बजेसम्म दैनिक दुई वटा बसले निरन्तर सेवा दिने व्यवस्था मिलाइएको छ। महानगरले प्रत्येक बस खरिदमा करिब १ करोड ६० लाख रुपैयाँ लगानी गरेको जनाएको छ। यससँगै, मेयर धनराज आचार्य ले पोखरामा वातावरणमैत्री यातायात विस्तार गर्न व्यवसायीहरूलाई पनि इलेक्ट्रिक बस सञ्चालनमा आउन आग्रह गर्नुभयो । यो सेवा केवल यात्रु सुविधा मात्र नभई इलेक्ट्रिक सवारी प्रवर्द्धन गर्ने अभियानको सुरुवात पनि भएको मेयर आचार्यको भनाई छ । पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले नयाँ वर्षकै दिन विमानस्थलमा एक समारोहका बीच सेवाको उद्घाटन गरिएको बताए ।














