फेवाताल किनारमा रहेको राजतन्त्रको निसानि रत्न मन्दिर गणतन्त्र दिवसका अवसरमा खुला भएको छ । कहिले खुल्ने भन्ने प्रतीक्षाको विषय रहेको रत्न मन्दिर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती राईले एक समारोहका बिच पर्यटक प्रवेशका लागि खुला गर्नुभयो ।
प्राकृतिक सौन्दर्यका दृष्टिले रत्न मन्दिर र हिमागृह निकै मनमोहक छ । तत्कालीन राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नको नाममा पोखराको फेवाताल किनारमा रत्नमन्दिर बनाउनुभएको थियो । रत्न मन्दिर खासगरी पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बस्ने दरबार हो । २०१३ सालमा दरबारको निर्माण सुरु गरी २०१५ सालमा निर्माण पूरा भएको थियो । तत्कालीन राजा महेन्द्रका पालामा बनेको दरबारपछि राजा वीरेन्द्रको नाममा आएको थियो । पूर्वराजा महेन्द्रका माहिला भाइ हिमालय वीरविक्रम शाहका नामबाट हिमागृह निर्माण गरिएको थियो । नेपाल ट्रस्ट इकाइ कार्यालयकी इकाइ प्रमुख गीता मिजारले रत्नलाई राजा महेन्द्रले उपहारको रूपमा यो मन्दिर बनाइदिएको जनाएकी छन् ।
रत्न मन्दिरको मुख्य भवनमा ११ कोठा छन् । भूइँ तलामा अतिथिकक्ष, भोजनालय, राजाका सुरक्षा अधिकृत बस्ने कोठा र आरामकक्ष छन् । दोस्रो तलामा ५ वटा कोठा छन् । कोठाबाहिरको मुख्य हलमा बैठककक्ष छ । रत्न मन्दिर २१ रोपनी र हिमागृह १० रोपनीमा छ । दुवै दरबारसहित रत्न मन्दिरका नाममा कुल १ सय ७४ रोपनी जग्गा छ । रत्न मन्दिरले भने १ सय ११ रोपनी ओगटेको छ । यसभित्र नेपाली सेनाको भगवती दल गण छ । मन्दिर परिसर भित्र एतिहासिक रत्न मन्दिर दरबार लगाएतका तालघर, बगैँचा र अन्य साना ठुला गरि १० वटा भएको इकाइ प्रमुख मिजारले जानकारी दिएकी छन् ।
०६२÷०६३ को जनआन्दोलनले नेपालमा आएको गणतन्त्रको १५ वर्ष पूरा भइसक्दा समेत नेपाल ट्रष्टको नाममा रहेको रत्न मन्दिर खुल्न सकेको थिएन । रत्नमन्दिर खुल्ने पोखरेलीको माग पुरा भएकोमा स्थानीयले खुशि व्यक्त गरेका छन् ।
२०५८ सालमा भएको दरबार हत्याकाण्डपछि राजपरिवारको सम्पूर्ण सम्पत्ति नेपाल ट्रस्टको नाममा आएको थियो । अहिले नेपाल ट्रष्ट ऐन, २०६४ अनुसार सम्पतिको सञ्चालन गरिएको छ । मूल प्रवेशद्धारबाट छिरेर रत्न मन्दिर तथा हिमागृह क्षेत्रको वरिपरि पर्यटकहरु घुम्न पाउने छन् । दरबार प्रवेश भने खुला गरिएको छैन । आगामी दिनमा सबै तयारी गरेर अरु कक्ष खोलिने ट्रस्टले जनाएको छ ।
