ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–५ को चाँगे माध्यमिक विद्यालयका विद्यार्थीमा ठेउला देखिएपछि एक साताका लागि बन्द गरिएको छ । वैशाखदेखि नै देखिन थालेको यसले भयावह रुप लिन थालेपछि जनस्वास्थ्य अधिकृतको सल्लाहमा बन्द गरिएको प्रधानाध्यापक केशवप्रसाद गौतमले जानकारी दिए ।
३५ जना भन्दा बढी विद्यार्थीमा ठेउला देखिएर ज्वरो समेत आउन थालेपछि विद्यालयले जिल्ला स्वास्थ्य कार्यालयमा खबर गरेको थियो । जनस्वास्थ्य अधिकृत योगराज घिमिरेको नेतृत्वमा गएको टोलीले यो सरुवा रोग भएको र अरु विद्यार्थीमा सर्न नदिन एक साता विद्यालय बन्द गर्न उचित हुने सुझाव दिएपछि आइतबार देखि शुक्रबारसम्मका लागि बन्द गरिएको हो । विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाको शिक्षा शाखामा बन्द गर्ने विषयमा समन्वय भएको थियो ।
‘यो भाइरसबाट सर्ने सरुवा रोग हो र रुघाखोकी जस्तै सर्छ,’ जनस्वास्थ्य अधिकृत घिमिरेले भने, ‘यसअघि विद्यालयबाटै सरेको देखिएकाले बन्द गर्दा उचित हुने सुझाव दिएका हौं ।’ सदरमुकाम ल्याएर गरिएको परीक्षणबाट ठेउला पुष्टि भएको उनले वताए । सामान्यतया यो १० देखि २१ दिसम्म सर्ने गरेको घिमिरे बताउँछन् ।
गाउँपालिकाका अनुसार अहिलेसम्म एउटा विद्यालयमा मात्रै देखिएको सूचना विद्यालयले गरेको छ ।
