पोखरा महानगरपालीकाको सडकमा गत शुक्रबारदेखि थुप्रिएको फोहोर सोमबार देखि उठाउन थालिएको छ । ल्यान्डफिल्ड साइटमा फोहोर पुर्न महानगरपालिकाले भाडामा लिएको एक्साभेटरको इन्धनको रकम भुक्तानि भएपछि फोहोर उठाउन थालिएको पोखरा महानगरपालिकाका सूचना अधिकारी किरण प्रसाद कोइरालाले बताए ।
पुसको देस्रो सातादेखि महानगरपालिका वडा नं.३२ लामेहालस्थित सेति नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल्ड साइटमा फोहोरमैला व्यवस्थापन गरिएको छ । ल्यान्डफिल्ड साइटमा फोहोर पुर्न महानगरले भाडामा लिएको एक्साभेटरको इन्धन रकम निकासा नहुदाँ गत शुक्रबार देखि फोहोर नउठेको सूचन अधिकारी कोइरालाले जनाएका छन् ।
महानगरले वडा नं. ३२ मा ९३ रोपनी जग्गा खरिद गर्ने र केहि सार्वजनिक जग्गा समेत प्रयोग गर्ने गरि स्थायी रुपमा ल्यान्डफिल्ड साइट बनाउने योजना रहेको सूचन अधिकारी कोइरालाले बताए । जग्गा खरिद गर्दा जिल्ला प्रशासन कार्यालयमा मुल्याङ्कन समिति गठन गर्ने प्रक्रियामा पुगिसकेको महानगरले जनाएको छ ।
इन्धनको समस्या समाधान भएर तत्कालको लागि बजारको फोहोर नउठ्ने समस्या त समाधान भयो, तर फेरी पनि यस्ता समस्या नआउला भन्न सकिदैन । त्यसैले यसको दिर्घकालीन समाधानको उपाए खोज्नुपर्ने स्थानीयको भनाइ छ । स्थानीयले फोहोरको वर्गिकरण गरेर सर्वप्रथम घरबाटै फोहोर व्यवस्थापनमा जोड दिएका छन् ।