तनहुँको व्यास नगरपालिकाले अभिभावकविहीन बालबालिकाहरूलाई निःशुल्क खान, बस्न र शिक्षा आर्जन गर्नका लागि अभिभावकत्व ग्रहण गरी साहारा दिने भएको छ ।
शिक्षाको उज्यालो घामबाट कुनैपनि बालबालिका वञ्चित हुन नपरोस् र सामाजिक न्यायको सिद्धान्त बमोजिम व्यास नगर समता विद्यालय स्थापना गरी बालबालिकाहरूलाई आवास सहितको शिक्षा प्रदान गर्ने निर्णय गरेको हो ।
नगरपालिकाद्वारा बस्ने, खाने, पढ्ने र सुत्नेसहितको सुविधा प्रदान गरेपछि बालबालिका खुसी छन् । विद्यार्थी अभावले गर्दा बन्द भएको व्यास नगरपालिका–७ मा रहेको क्यामिन छापथोक प्राथमिक विद्यालयलाई नगरपालिकाले ४० लाख खर्चेर विद्यालयको मर्मत सम्भार गरी २०७९ साल भदौ ५ गतेबाट व्यास नगर समता विद्यालय सञ्चालनमा ल्याएको हो।
अभिभावकीय दायित्व नगरपालिकाले लिएर ती बालबालिकाको चौतर्फी विकासको लागि विद्यालय सञ्चालनमा ल्याइएपछि बालबालिकाहरूले साहारा पाएका हुन् । साहाराविहीन भएका कतिपय बालबालिका सडकमा भौँतारिएर हिँड्ने गरेकोले पढ्ने, लेख्ने अधिकारबाट वञ्चित हुने तथा कुपोषण हुने गरेकोले व्यास नगर समता विद्यालय सञ्चालनमा ल्याइएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । नगर प्रमुख न्यौपाने भन्नुहुन्छ, “बालबालिकाको हेरचाह, स्याहार संहार तथा आधारभूत अधिकार उपयोग र संरक्षण गर्न सञ्चालन गरेका हौँ ।” उक्त व्यास नगर समता विद्यालयमा हाल ४५ जना अभिभावकविहीन बालबालिकाले अध्ययन गरिरहेका छन् ।
हाल सो विद्यालयमा शिक्षक र कर्मचारी गरी १० जना छन् भने सबै कक्षाहरूमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुने र हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप गरिने प्रधानाध्यापक सुनारले बताए । यसरी व्यास नगरपालिकाले अभिभावक विहीन बालबालिकाको संरक्षकत्व गरेकोमा स्थानीय बासिन्दाहरू खुसी छन् । यस उदाहरणीय कार्यको अन्य पालिकाहरूले समेत सिको गर्नुपर्ने देखिन्छ ।
विद्यालय सञ्चालनमा आएपछि अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घर परिवारका बालबालिकाहरू अध्ययन गर्न पाएका छन् । बालबालिकालाई चाहिने कापी कमल, पोसाक, झोला, खाने बस्ने सबै नगरपालिकाले व्यवस्था गरेको छ । अति विपन्न, अभिभावक विहीन, शिक्षाको पहुँचमा नरहेका बालबालिकालाई खाना र आवासको व्यवस्था गरिएको छ । उक्त विद्यालयमा पढाउने समय तालिका छ, त्यो भन्दा बाहेक उनीहरूलाई अनुशासित र लगनशील बनाउन गरिने क्रियाकलापहरू समेत त्यति नै प्रभावकारी छ भने खाजा खान र बस्ने सुत्ने व्यवस्था पनि व्यवस्थित बनाइएको छ ।