पर्यटकीय नगर पोखराको विशाल रंगशालामा ९ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । भारतीय दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा पोखरा रंगशालामा योग दिवस मनाइएको हो ।
योग दिवसमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पर्यटनमन्त्री सुदन किँराती, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले योगाभ्यासमा सहभागिता जनाएका थिए । योग दिवसको अवसरमा भएको कार्यक्रममा पोखरेलीको उल्लेखनिय उपस्थिति रहेको थियो । युवा, युवती, वृद्धवृद्धा, विद्यार्थी लगायतले योग अभ्यासमा थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले योगको माध्याबाट पर्यटन विकासमा लाग्नु पर्नेमा जोड दिए। नेपाल र भारतको सांस्कृतिक सम्बन्ध भएकोले भारतीय पर्यटको साथै अन्य मुलुलकका पर्यटकलाई योगका माध्यमबाट जोड्न सकिने बताए । त्यस्तै, पर्यटन मन्त्री सुदन किराँतीले भारतीय नागरिकलाई प्राकृतिक सुन्दरताको अवलोकन गर्दै योग गराउने गरी पर्यटन प्रवर्द्धन गर्नु पर्नेमा जोड दिए ।
साथै, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अन्तर्राष्ट्रिय योग दिवस पोखरामा मनाउन पाउँदा खुशी लागेको बताए । विश्वका धेरै मानिसको योगमा आकर्षण भएको पनि उनले सुनाए। पोखराका धेरै मानिस योग दिवसको कार्यक्रममा आएकोमा निकै खुशी लागेको पनि उनले बताए ।
पोखरा पर्यटकका हिसावले महत्वपूर्ण सहर रहेको बताउँदै उनले भारतका विभिन्न सहरबाट पोखरामा धेरै भारतीय पर्यटक आउने गरेको बताएका छन् ।

