पोखरा महानगरपालिका अन्तरगत स्वास्थ्य महाशाखाका १ सय ९० कर्मचारीले गत फागुन महिनादेखि तलब पाएका छैनन् ।
महाशाखाका कर्मचारीका अनुसार उनीहरुले फागुनदेखिको तलब र पोशाक भत्ता १० हजार रुपैयाँ समेत हालसम्म नपाएका हुन् । महाशाखामा विभिन्न पालिकाबाट सरुवा भएर आएका कर्मचारीले सबैभन्दा बढी सास्ती खेप्नुपरेको बताउछन् ।
पुराना कर्मचारीको हकमा असारसम्म तलबको व्यवस्था भएपनि सरुवा भई आएका कर्मचारी भने अझै तलबवीहिन भएको सिनियर अहेब कुस्मराज आचार्यले बताए । आचार्य हेमजा स्वास्थ्य चौकीका प्रमुखसमेत हुन् ।
पालिकाबाट सरुवा भई आएका कर्मचारीको तलब उतै जाने गरेको तर महाशाखामा आएपछि त्यसको भर्पाई गर्न महानगरलाई सकस परेको देखिन्छ । यद्यपि, कर्मचारीहरुले यही असार मसान्तसम्म सबै तलब पाउने महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिएका छन् ।
स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालका शब्दमा संघीय सरकारबाटै कम रकम आएकाले तलब खान नपुगेको हो । बजेटमा आए अनुसार तलबभक्ता पुग्ने भएपनि कोभिडको समयमा काजमा थपिएका कर्मचारी र बढुवा भएको जनशक्तिलाई पहिलै छुट्टाएको रकमले नपुग्दा समस्या परेको अर्याल बताउँछन् । अर्यालका अनुसार मन्त्रालयले ३ करोड रुपैयाँ पठाउँदैछ । उक्त रकम आजै बेलुकासम्म प्राप्त हुने उनले बताए । तर ३ करोड रुपैयाँले १ महिनाकोमात्रै तलब पुग्ने कर्मचारीहरु बताउँछन् । त्यस्तै, आगामी आर्थिक वर्षदेखि भने तलब निरन्तर हुने उनको भनाई छ ।