पोखरा महानगरपालिकाले महानगक्षेत्रका ५ जना उत्कृष्ट कृषक र १० जना ज्येष्ठ प्रवद्र्धन कृषक गरी १५ जना कृषकलाई सम्मान गरेको छ । महानगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित कृषक सम्मान कार्यक्रममा नगरप्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले कृषकलाई संयुक्त रूपमा नगद सहित सम्मान प्रदान गर्नुभएको हो ।
उत्कृष्ट कृषक सम्मान प्राप्त गर्नेमा पोखरा १५ का भैसीपालक कृषक दीपक तिमिल्सीना, पोखरा २५ का गाई पालक कृषक धनश्याम तिमिल्सीना, पोखरा १७ का कुखुरा पालक कृषक चन्द्रकान्त बराल, पोखरा २० का बाख्रा पालक कृषक दुर्गा बहादुर गुरुङ र पोखरा १९ की बङ्गुर पालक कृषक सरस्वती बस्ताकोटी रहेका छन् । पोखरा महानगरपालिकाको तर्फबाट उत्कृष्ट कृषकहरूलाई कर सहित नगद रु.१० हजार र ज्येष्ठ प्रवद्र्धक कृषकहरूलाई कर सहित रु.३ हजार साथमा सम्मानपत्र प्रदान गरिएको हो ।
यस्तै पाडीबाच्छी आफै हुर्काएर माउ बनाउने ५०० जना कृषकलाई रु.३ हजार र एक हजार पाडीबाच्छी हुर्काउनका लागि रु.४ हजारका दरले अनुदान उपलब्ध गराइएको छ । महानगर क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूलाई रु.८ हजारका दरले ५० जनालाई बाख्रा खरिदका लागि अनुदान समेत प्रदान गरिएको छ ।
कार्यक्रममा सहभागी कृषकहरूले कृषि व्यवसाय र यसको प्रवद्र्धन सहित कृषकहरूको हौसला बढाउने कार्यमा महानगरपालिकाले चालेको कदमको प्रशंसा गरेका छन् । यस प्रकारका कार्यक्रम निरन्तरता गर्न कृषकले जोड दिएका छन् ।