हरेक वर्ष जस्तै वर्षा सगैँ पोखराको फेवातालमा पानीको सतहसँगै जलकुम्भी झार र बन्दा झार फैलिन थालेको छ । जलकुम्भी झारका कारण फेवाताल कुरुप हुँदै आएको छ ।
अविरल वर्षासँगै मुहान क्षेत्रका हर्पनखोला, अँधेरीखोला, लौरुकखोला र वेतयानी खोलालगायतका खोलाहरुमा आएको बाढी फेवातालमा मिसिएर पानीको सतह बढेसँगै जलकुम्भी झार र बन्दा झारपनि फैलिन थालेको हो । फेवातालमा पानीको सतहसँगै वर्षेनी जलकुम्भी झार बढ्ने गर्दछ । यस वर्षपनि पानीको सतहसँगै जलकुम्भी झार र बन्दा झार बढ्न थालेको डुङ्गा स्थानीय बताउछन् । तालको माथिल्लो सिरान क्षेत्रमा रहेको सीमसार क्षेत्रमा रहेको जलकुम्भी झार र बन्दा झार बाढीसँगै बगेर फेवातालमा आउने गरेको स्थानीय बताउछन् ।
फेवातालमा विगत २५ वर्षदेखि जलकुम्भी झार देखिदै आएको छ भने बन्दा विगत १५ वर्षदेखि देखिएको स्थानीयको भनाइ छ । बन्दा झारले भन्दा जलकुम्भी झारले पानीमा भएको पोषक तत्व उपयोग गर्ने गर्दछ । जसका कारण माछालाईसमेत असर पार्ने बताइन्छ । सुन्दर फेवाताललाई पानीको माथिल्लो भागमा जलकुम्भी झारले छपक्कै ढाक्दा तालको सुन्दरता ह्रास भई कुरुप देखिने गरेको स्थानीयको भनाइ छ । त्यस्तै जलकुम्भी झार र बन्दा झारका कारण ताल पारीबाट दूध, तरकारी लिएर आवतजावत गर्नेहरुको दैनिकीमा असर परेको स्थानीयको भनाई छ । अन्य समयमा भने जलकुम्भी झारकै कारण आफूहरुको पेशासमेत समस्या देखिएको डुङ्गा व्यवसायी बताउछन् ।
फेवातालको सुन्दरता बचाउनका लागि तालमा देखिएको जलकुम्भी झार र बन्दा झार फाल्ने अभियान वर्षेनी चलाईंदै आएको छ । उसो त १ करोड खर्चेर झार फाल्ने फ्लोडिङ मेसिनसमेत ल्याएर प्रयोग गरिएको हो । तर मेसिन प्रभावकारी बन्न सकेको छैन । तालको सुन्दरता बचाउन जलकुम्भी झार र बन्दा झारको दीर्घकालिन समाधान खोज्नुपर्दछ । वर्षातको समयमा मात्र नभएर हिउँदमै पनि यसको स्थायी समाधान खोज्नुपर्छ । झारको स्थायी व्यवस्थापनका लागि स्थानीय सरकार, गण्डकी प्रदेश सरकार र केन्द्र सरकारले हातेमालो गरि पहल गर्नुपर्दछ ।