साउन अर्थात् प्रकृतिका विभिन्न रंग समायोजनको महिना । यसै महिनाका विभिन्न तिथिमा हरितालिका तिज, रक्षा बन्धन, नाग पञ्चमी आदि थुप्रै महत्त्वपूर्ण चाडहरू पर्दछन् । यो भगवान् शिव आराधनाको महिना हो, यसै कारण आफूले चाहेजस्तो जीवनसाथीको आकाङ्क्क्षा र यसका अलवा परिवारजनमा सुख, शान्ति र कान्ति छाइरहोस् भनेर अविवाहित नारीले साउन महिनामा शिवको बत बस्ने गर्छन् ।
साउन महिनालाई हरियालीको महिना पनि भनिन्छ । हरियो रङ्गमा यस पर्वको विशेष अर्थ रहेको पाइन्छ । महिला प्रजननशील, उर्वरशील होऊन् भनेर यो चलन बसाइएको संस्कृतिविद् बताउँछन् । साउनमा अधिकांश महिलाका हात टिउरी वा मेहन्दी र रातो, हरियो, पँहेलो चुराले सजिएको हुन्छ । साउन यस्तो विषेश महिना हो जहाँ साना बालिकादेखि हजुरआमासम्मको एउटै पहिरन देख्न पाइन्छ । हरियो चुरा र हरियै लुगा साउन महिनाको विशेष पोशाक जस्तै बनिसकेको छ । कलेज पढ्ने छात्राहरुले समेत हातभरि मेहेन्दी र नाडीभरि हरियो र पहेलो रङगको चुरा लगाउन थालेका छन् । साउन महिनामा हरियो पोते र रातो समिश्रण गरी लगाइन्छ । अझ हत्केलामा जति बढी गाढा मेहेन्दीको रंग बस्यो उति नै श्रीमानको माया पाइन्छ भन्ने विश्वास छ ।
यस वर्षको साउन १ गते सोमबारे औँसी पनि हो । सोमबारे औँसीको महात्म्य अनि महत्त्व सदियौँ देखि अविच्छिन्न अनि अटुट छ । हिन्दु धर्मावलम्बी अनुसार सोमवार र औँसी मात्रको संयोग भने कहिलेकाहीँ मात्र हुने गर्दछ । महाभारतका पात्रहरूले पनि आफ्नो जीवनकालमा सोमबारे औँसीको तिथि प्राप्त गर्न नसकेको भनाइ उल्लेख छ । हिन्दु शास्त्र अनुसार आजको दिन मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुने भनाइ चलिआएको छ । श्रावण महिनाबारे पौराणिक व्याख्या अनुसार यसै महिनामा समुद्र मन्थन भएको हो र त्यसपछि हलाहल विष निस्केको पौराणिक कथामा उल्लेख छ । विषको जलनबाट संसारलाई रक्षा गर्नका लागि भगवान् शिव आफैले विषको सेवन गरेर विषको दहन शान्त पार्न हिमालय पर्वतमा जानुभएको उल्लेख छ । यसरी विष ग्रहण गरेर नीलकण्ठ भएका भगवान् शिव नेपालमा अवस्थित गोसाँईकुण्डमा गएर सुत्नुभएको र विषको असर कम भएको उल्लेख छ । यसरी विषको प्रभावमा रहनुभएका शिवलाई यस महिना शिव लिङ्गमा जल तथा बेली पुष्प चढाएमा शिव प्रसन्न हुने मान्यता छ । शिवपुराणमा पनि आफ्नो जटामा साक्षात् गङ्गा नदी लिएर हिँडेका भगवान् शिव आफै जल हुनुभएको उल्लेख गरिएको छ । यसै हिसाबले पनि यस महिना शिव लिङ्गमा जल चढाउन पहेँलो कपडा लगाएर हातमा जल अड्याउने लौरो स्वरूपको खर्पनझैँ बोकेर जलाशयबाट कठिन र खाली खुट्टा पदयात्रा गरेर जाने चलन छ । गण्डकी प्रदेशको रामघाट, सेती नदी, केदारेश्वर, पुम्दीभुम्दी, विन्दवासिनी, गुप्तेश्वर, छाङछाङदि लगायत नदी तथा शिव मन्दिरमा सुन्तला रङ्गका एकसरो वस्त्र धारण गरेका शिवभक्तहरूको भीड लागेको छ ।
श्रावणसम्ममा बारीका मकैहरू पनि ठुलै 3f]गा भइसकेका हुन्छन्, श्रावणको झरीमा पोलेको या उसिनेको मकैको खाजा खानुको आनन्द नै बेग्लै हुन्छ । गाउँघरका हिलो गोरेटोमा प्याट्ट प्याट्ट चप्पल पड्काउँदै लड्दै चिप्लीदैँ हिँडेको बाल्यकालका यादहरू पनि श्रावण महिनाको एउटा सम्पत्ति हो । श्रावण रसिलो हरियो सरस महिना भएकाले यस अवस्थामा मानिसले प्रकृतिसँग गरेको संगत संधै सम्झिरहन्छ र सुख्खायाममा पनि साउनेको त्यही रसिलोपनले रमाइरहन्छ ।
श्रावण महिनामा सूर्य कर्कट राशिमा रहने भएकोले गर्मी अत्याधीक हुन्छ र साथै निरन्तर झरी पर्नुभएकाले मान्छेहरू आव–जावत गर्दा पानीमा रुझ्न सक्ने संभावना हुन्छ । त्यसमाथि कृषि अनि कृषीकार्यको यस महिनामा पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलो उछिट्टिनु लगभग सामान्य झैँ हो । यसर्थ गर्मी र वर्षाको यो असरले वर्षाको महिनाहरूमा चर्म तथा छालासँग सम्बन्धित रोगहरू जस्तै लुतो, दाद, घमौरा या खटिराहरू आउन सक्ने सम्भावना अत्यधिक हुन्छ । साउने सङ्क्रान्ति लाई यस परिप्रेक्ष्यमा लुतो फाल्ने दिनका रूपमा पनि लिइन्छ । लुतो फाल्ने आ–आफ्नै खालका जनविश्वास र चलन रहेको पाइन्छ । यस दिन नदी किनारमा गई शरीरमा लेसिलो पहेँलो माटो दलेर नुहाउँदा फोहोरजन्य कारणबाट आउने लुतो फालिन्छ भन्ने जनविश्वास छ भने कसैले भन्टालाई दुलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा समेत लुतोबाट छुटकारा पाइने जनविश्वास रहिआएको छ ।
साउन नेपाली समाजमा पर्वैपर्वको महिना हो । त्यसमा पनि पानी प्रशस्त पर्ने भएकाले नेपाली पर्वतीय थुम्काहरुमा प्राकृतिक रुपमै शिवलिङ्गमा जल झरिरहने परिरहने महिना हो । यही झलक पाएर मानिस शीतलता र कल्याणको सम्मान गरी शिवालयमा गई प्रकृतिअनुसार पूजा गर्छन् । शिवको निवास मानिने पर्वतीय धुरीमा चढेर तीर्थयात्रा गर्छन् । मेला भर्छन् । कुण्डहरुमा स्नान गर्छन् । यही महिना लागेपछि गोसाइँकुण्ड मानसरोवर दामोदरकुण्ड दूधकुण्ड,पाँचपोखरी,खप्तड,सुर्मातालको यात्रामा निस्कन्छन् । यो नेपाली भूमि र प्रकृतिले दिएको सिकाएको धर्म हो ।

