पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको झण्डै ७ महिना पछि सोमबार विमानस्थलमा आयल निगमको हवाई इन्धन डिपो निर्माणको लागि शिलान्यास गरिएको छ । जनवरी १, २०२३ मा प्रधानमन्त्री पुष्पकमल दाहालबाट उद्घाटन भएको भए पनि हवाई इन्धन भर्नको लागि डिपो भने थिएन ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विधिवत् रूपमा यसको शिलान्यास गरेका हुन् । हवाई इन्धन डिपो नभएकाले अहिलेसम्म पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि ७ किलोमिटर टाढा रहेको पुरानो पोखरा विमानस्थलबाट इन्धन ल्याउने गरिएको छ । आयल निगमले रिफ्युलरबाट जहाजमा आवश्यक पर्ने हवाई इन्धन ओसार्दै आएको छ । ११ हजार लिटर क्षमता भएका २ वटा रिफ्युलरले विमानस्थलका जहाजमा इन्धन भर्ने गर्दै आएका छन् ।
अहिले भने आयल निगमले करिब ७७ करोड रुपैयाँ खर्चिएर हवाई इन्धन डिपो निर्माण गर्न लागेको हो । यसका लागि निगमले नागरिक उड्डयन प्राधिकरण प्राधिकरणसँग पोखरा विमानस्थलमा रहेको जग्गा लिजमा लिएको छ ।
कुल ३६ लाख लिटरका हवाई इन्धन भण्डारण ट्याङ्क निर्माण गर्न लागिएको हो । ७७ करोड रुपैयाँको परियोजनाका लागि भारतीय कम्पनी बीएचएनसँगको सहकार्यमा रेलिगेयर कन्सट्रक्सन र समानान्तरले ठेक्का पाएका छन् भने एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढ्ने आयल निगमले जनाएको छ ।
आयल निगमले मुलुकका ६ विमानस्थलमा हवाई इन्धन डिपो निर्माण गर्ने योजना बनाएको छ । विमानस्थलमा इन्धन डिपो नहुँदा जहाजलाई इन्धन दिन कठिनाइ भएपछि निगमले कदम चालेको हो ।
