कास्की जिल्ला प्रशासन कार्यालयमा २ जनाले आमाको नामबाट नागरिकता लिने प्रक्रिया सुरु गरेका छन् ।
नागरिकता ऐन संशोधन गर्न ल्याइएको नयाँ विधेयकले आमाको नामबाट मात्र नागरिकता पाइने सुनिश्चित गरेको छ । यसअघि २०७५ सालमा ल्याएको विधेयक फिर्ता लिएको सरकारले हाल नयाँ विधेयक ल्याएको हो ।
कास्कीबाट २ जनाले आमाको नामबाट नागरिकता लिन निवेदन दिएको र सम्बन्धित वडाबाट प्रमाणित कागजात र सिफारिश पेश गर्न निवेदकलाई जानकारी दिइसकेको प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।
यद्यपि अहिले यससम्बन्धी विधेयक बनेपनि पहिले देखि आमाको नामबाट नागरिकता दिइँदै आएको उनले बताए । संसदबाट यससम्बन्धी विधेयक पारित भएपछि २ जनाले सुरु गरेको प्रक्रिया कास्कीमा पहिलो नै भएको उनले बताए ।
आमाको नामबाट नागरिकता लिन विधेयकमा ४ शर्त राखिएका छन् । पहिलो पहिलो सर्त नेपाली आमाबाट नेपालमै जन्मिएको हुनुपर्ने, दोस्रो नेपालमै बसोबास गरेको हुनुपर्ने, त्यस्तै, तेस्रो, बाबुको पहिचान नभएको र चौथोमा बाबुको पहिचान नभएको स्वघोषणा गर्नुपर्नेछ । यस्तो स्वघोषणा नागरिकता लिने व्यक्ति वा उनकी आमाले गर्नुपर्ने हुन्छ । आमाको मृत्यु भएको रहेछ भने त्यसको प्रमाण ल्याएर नागरिकता लिने व्यक्ति आफैंले आफ्नो बाबुको पहिचान नभएको बेहोरा खुलाएर घोषणा गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, कास्की प्रशासनले नागरिकतासम्बन्धी नयाँ सूचना निकालेको छ । सूचनामा नेपाली नागरिक आमाबाट जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा वंशजको आधारमा नेपाली नागरिकता दिइने उल्लेख छ ।