तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयका विद्यार्थीले पढ्दै कमाउँदै कार्यक्रममार्फत कुखुरापालन सुरु गरेका छन् ।
प्रयोगात्मक शिक्षा अन्तर्गत विद्यालयका विद्यार्थीले स्थानीय जातको कुखुरापालन सुरु गरेका हुन् । विद्यालयको एउटा कोठामा दुई सय स्थानीय प्रजातिका कुखुराको चल्ला पाल्न सुरु गरिएको विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए ।
गाउँपालिकाको एक वडा एक उत्पादन र पढ्दै कमाउँदै कार्यक्रममार्फत कुखुरापालन सुरु गरिएको हो । आँबुखैरेनी–४ आमडाँडाबेँसी स्थित चण्डेश्वरी आधारभूत विद्यालयमा पनि पढ्दै कमाउँदै कार्यक्रममार्फत अदुवाखेती गरिएको छ । विद्यालयस्तरका बालबालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले पढ्दै कमाउँदै परियोजनाअन्तर्गत दुई रोपनी जग्गामा एक सय ७५ किलो अदुवा र एक सय ६५ किलो हलेदो रोपिएको छ ।
विद्यार्थी आफैँले बारी खनेर अदुवा र हलेदो रोपेको विद्यालयका प्रधानाध्यापक कुवेर ढकालले जानकारी दिए । विद्यार्थीलाई सीपसँग जोड्ने उद्देश्यसहित पढ्दै कमाउँदै कार्यक्रम लागू गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
गाउँपालिकाले विद्यालयको जग्गाको उपलब्धता, विद्यालयको माग र आवश्यकताका आधारमा अन्य पालिकामा पनि यो कार्यक्रम विस्तार गर्ने जनाएको छ ।।
