पोखरा ३३ का स्थानीयको अवरोधपछि पोखराका मुख्य सहरी क्षेत्रमा फोहरको डंगुर लागेको छ ।
महानगरले अस्थायी ल्यान्डफिल साइटको रुपमा प्रयोग गर्दै आएको पोखरा ३३ लामेआहालमा फोहोर बोक्ने सवारी साधनले बाटोमै फोहोर खसालेपछि स्थानीयले विरोध सुरु गरेका हुन् । पोखरा महानगरपालिकाले ६ महिनाको लागिमात्रै भनेर लामेआहालमा फोहोर फाल्ने सम्झौता गरेको थियो । तर, ६ महिना बित्दा पनि महानगरले वैकल्पिक व्यवस्था गर्न सकेन ।
बस्तीको नजिक फालिएको फोहरले दुर्गन्ध बढाएपछि स्थानीयले पटक–पटक विरोध गर्दै आइरहेका छन् फोहोर फाल्ने कार्य रोक्न अदालतसमेत गुहारेका छन् । स्थानीय मेघराज पौडेलको अनुसार फोहोरको व्यवस्थापन उचित तवरले नहुँदा ३ किलोमिटर वरपरको क्षेत्रमा दुर्गन्ध फैलिइरहेको छ । पोखरा महानगरपालिकासँग भएको १६ बुँदे सम्झौता अनुसार महानगरपालिकाले फोहोर फाल्नेबाहेक अन्य कुनै पनि बुँदा कार्यान्वयन नगरेको लामेआहालका स्थानीयले जनाएका छन् । स्थानीयको स्वास्थ्य बिग्रेको छ भने नदीमा केमिकल मिसिएको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले चाहिँ स्थानीय युवाहरुको विरोधका कारण महानगरको फोहोर उठ्न नसकेको बताए । मेयर आचार्यको अनुसार स्थानीयसँग वार्ता नमिलेसम्म पोखराको फोहोर उठ्ने छैन् । फोहोर कहिले उठ्ने भन्ने यकीन नभएको महानगरले जनाएको छ ।