कास्कीकोटको मान्द्रेढुंगाबाट दुई विदेशीसहित १० नेपाली दृष्टिविहीनले प्याराग्लाइडिङ गरेका छन् ।
कास्कीकोटको मान्द्रेढुंगाबाट १२ दृष्टिविहीनलाई उडाउने व्यवस्था ब्लाइन्ड रक्स संस्थाले मिलाएको हो । ती साहसी दृष्टिविहीनमा सम्भवी दवाडी, नारायणी दवाडी, मीना भुजेल, मोम्सरा सुनार, चाँदनी शर्मा र रोजिना घिमिरे तथा दुई विदेशी क्रिष्टोफर जे जोन्स र थोमस सिडिलङ हुन् । उनीहरुसँगै अमिता खड्का, वासिम अन्सारी र सहबाज अन्सारीले पनि प्याराग्लाइडिङ गरे ।
सक्षम हुनका लागि दृष्टि होइन, हिम्मत, आत्मविश्वास र आँट चाहिन्छ भन्ने सन्देश दिनका लागि आफूहरूले सामूहिक प्याराग्लाइडिङ गराएको ब्लाइन्ड रक्सकी संस्थापक सृष्टि केसी बताए । सोमबारको उडान उनले दोस्रो प्याराग्लाइडिङ अनुभव हो । “म बादललाई स्पर्श गरिरहेकी थिएँ । उड्दै गर्दा पाइलटले गरेको वर्णनले पोखराको सौन्दर्य महसुस गरेँ । मन्द मन्द हावा, घामको ताप, शीतल हावालाई महसुस गरेँ । त्यसलाई मनको दृश्यमा कैद गरेँ,” उनले भने ।
प्याराग्लाइडिङ ल्यान्ड गरेपछि काठमाडौं मूलपानीकी सुनिता दवाडीले नसोचेको सफलता चुमेजस्तो अनुभूति गरेको बताए । अस्ट्रियाबाट आएका थोमसले आँखाले देख्न नपाए पनि यहाँको सौन्दर्य महसुस गरेको प्रतिक्रिया दिए । उडानअघि मान्द्रेढुंगा पुगेर पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हौसला प्रदान गरेका थिए ।।

