पोखरा महानगरपालिकाले स्वास्थ्य महाशाखामा कार्यरत काजका ५७ कर्मचारीलाई एकसाथ फिर्ता पठाउने निर्णय गरेको छ । महानगरका निमित्त कार्यकारी अधिकृत हेमप्रसाद आचार्यले स्वास्थ्य महाशाखालाई मङ्गलबारबाट ती कर्मचारीलाई हाजिरी नगराउन निर्देशन दिएका छन् ।
महानगरको स्वास्थ्य महाशाखामा अहिले ३३४ कर्मचारी छन्। महाशाखाका प्रमुख कृष्णप्रसाद अर्यालसमेत काजमा आएका हुन् । महानगरको गत असार १८ गतेको कार्यपालिका बैठकले अन्यत्र समायोजन भएका कार्यचारीलाई फिर्ता पठाउने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन १ गतेदेखि काजका सबै स्वास्थ्यकर्मीलाई दरबन्दी रहेकै तहमा फिर्ता पठाउन सबै स्थानीय तहलाई परिपत्र गरेको थियो ।
कोरोना महामारी हटेकाले लामो समयसम्म कर्मचारी काजमा रहँदा स्वास्थ्य संस्थाको सेवा प्रभावित भएको भन्दै साबिककै दरबन्दी भएको ठाउँमा फर्किन कर्मचारीलाई मन्त्रालयले असार २५ गते निर्देशन दिएको थियो।
पोखरा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले करारका कर्मचारीलाई स्वास्थ्य महाशाखामा हाजिर नगराउन मङ्गलबार पत्राचार गरेको र कर्मचारी पत्र बुझ्ने क्रममा रहेको जानकारी दिए ।
काज फिर्ता भएकामध्ये ३७ जना कामकाज गर्न आएका, ११ जना पदस्थापन भएर पनि नगएका कर्मचारी थिए । नौ जना कर्मचारी दरबन्दीभन्दा बढी भए पनि तर काममा रहेको स्वास्थ्य महाशाखाले जनाएको छ ।