पछिल्लो केही दिनयता बजारमा चामलको मूल्य महँगिएको छ । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाएर व्यापारीहरूले भाउ बढाउन थालेका हुन् । बजारमा खपत हुने अधिकांश ब्रान्डका चामलको मूल्य बढेको छ ।
राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसिनाले भारत सरकारले लङग्रेन वा बासमती चामलबाहेक अन्य चामलको निकासीमा प्रतिबन्ध लगाएको घोषणा गरेको र प्रतिबन्धको बहानामा व्यापारीले मनलाग्दी तरिकाले चामलको मूल्य बढाएको बताए । केही सीमित व्यापारीले मौज्दात रहेको चामल मनलाग्दी मूल्यमा बिक्री गर्दासमेत राज्यका नियमनकारी जिम्मेवार निकायले हस्तक्षेप गर्न नसकेको उनको भनाइ छ ।
नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले ठुला व्यापारीले चामलको मूल्य बोरामै प्रतिकेजी तीन सय बढाइसके, राज्यका जिम्मेवार निकायले किराना पसललाई अनुगमन गरेर तमासा देखाउने काम गरेको बताए । सानो लगानी गरेर किराना पसलको अनुगमन गरेर परिणाम नआउने भन्दै उहाँले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई थोक र उत्पादक उद्योगमा अनुगमन गर्न आग्रहसमेत गरे । किराना पसलको अनुगमन गरेर अनुगमनको सङ्ख्या बढाउनुबाहेक अन्य उपलब्धि नहुने उनको भनाइ छ ।
यता बजार भाउ नियन्त्रण गर्ने जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही दिनदेखि उपत्यका तीनै जिल्लामा चामलको भाउको विषयमा खाद्य तथा किराना पसलमा बुझ्ने काम गरेको जनाएको छ । विभागका निर्देशक होमनाथ भट्टराईले काठमाडौँ, ललितपुर र भक्तपुरका तीन जिल्लाका खाद्य तथा किराना पसलको अनुगमनका क्रममा चामलको मूल्य प्रतिबोरा १५० देखि दुई सय रुपियाँसम्म महँगो भएको पाइएको जानकारी दिए । अनुगमनका क्रममा थोकमै चामलको भाउ बढेको भनिएकाले थोकमा बढ्नुको कारणबारे खोजी भइरहेको पनि उनले जानकारी दिए । विभागले चामल केन्द्रित भएर अनुगमन गर्दै आएको बताउँदै उहाँले प्रतिबन्धको बहानामा मूल्य वृद्धि गरेको पाइए उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाही गरिने बताए ।