कास्कीमा पटक पटक विद्युत् अवरुद्ध हुँदा व्यवसायीलाई समस्या हुँदै आएको छ । विद्युत प्राधिकरणले पूर्वसूचनाबिना विद्युत् कटौती गर्नाले उद्योग व्यवसायमा समस्या आएको व्यवसायी बताउँछन् । विद्युत अवरुद्ध हुँदा सानादेखि ठूला उद्योगी व्यवसायी सङ्कटमा परेका छन् ।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापतिले समस्याबारे प्राधिकरणलाई अवगत गराए पनि बेवास्ता गरेको बताए । औद्योगिक क्षेत्रमा कहिल्यै बिजुली नजाने व्यवस्था गरिनुपर्ने उनको भनाइ छ । उनले भने “बिजुलीलाई आवश्यक पर्ने पानी प्रशस्त छ, अहिले बिजुली जाने बेला नै होइन, निर्माणका काम र विद्युत् स्तरोन्नतिको काम चलिरहेकाले समय समयमा विद्युत अवरोध भएको छ ।
औद्योगिक क्षेत्रमा विद्युत प्रवाह नियमित गराउन नसके पनि कम्तीमा पनि उद्योग समयमा बिजुलीको अवरोध गराउनु हुँदैन।” समस्याको पूर्णकालीन समाधान सम्भव नभए पनि वैकल्पिक समाधान खोज्नुपर्ने उनले बताए । जुनसुकै बखत बिनाजानकारी घरि घरि विद्युत अवरुद्ध हुँदा होटल क्षेत्र र सिङ्गो उपभोक्ता मारमा परेको स्थानीय बताउछन् ।
सङ्घका महासचिव राजेन्द्र ढकालले पैसा तिरेर पनि उपभोक्ताले विद्युत् सुविधा सहज रूपमा पाउन नसक्नु प्राधिकरणको लापरबाही र गैरजिम्मेवारीपना भएको बताए । उनले भने, “जुन पिक आवर हुन्छ, सोही समयमा बढी बत्ती जाने गरेको छ । पानी पर्न थालेपछि त झन् बत्ती गइहाल्छ।” बत्ती गएको बेला होटलको लिफ्टमा सेवा लिइरहेका पाहुना बिचमै रोकिँदा आतङ्कित हुने गरेको र गुनासो गर्ने गरेको दुःखेसो पनि उनले सुनाए ।
प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख जगदीशचन्द्र जोशीले खपतभन्दा धेरै विद्युत् उत्पादन भएका कारण अहिलेको समस्या उत्पन्न भएको बताए । उनले भने, “उत्पादन धेरै तर खपत कम हुँदा ट्रिप भएर विद्युत् अवरुद्ध हुने गरेको छ।” प्रदेशका ११ जिल्ला उक्त प्रादेशिक कार्यालय मातहत रहेका र गण्डकी प्रदेशमा अहिले सात सय मेगावाट विद्युत् उत्पादन हुँदै आएको तर खपत भने जम्मा ८० मेगावाट हाराहारी मात्र रहेको जानकारी दिए । उनका अनुसार पोखरामा मात्र यस्तो खपत ४० मेगावाट रहेको तथ्याङ्क छ ।
उनले भने “यही समस्या भएर केन्द्रीय र प्रादेशिक तहहरूमा छानबिन समिति बनेर काम पनि भइरहेको छ । समस्या समाधानका लागि प्राधिकरणका विभिन्न ग्रिडसँग पनि समन्वय भइरहेको छ।”